Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बराहपोखरी गाउँपालिकामा वार्षिक योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति, ६७ वटा योजनामध्ये ४१ वटा सम्पन्न

    बराहपोखरी गाउँपालिकामा वार्षिक योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति, ६७ वटा योजनामध्ये ४१ वटा सम्पन्न


    • शुक्रवार, बैशाख २६ २०८२

    • नेपाल वाइड


    बराहपोखरी गाउँपालिकामा वार्षिक योजना कार्यान्वयनमा उल्लेखनीय प्रगति, ६७ वटा योजनामध्ये ४१ वटा सम्पन्न
    बराहपोखरी गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रम ।

    खोटाङ, २६, वैशाख । बराहपोखरी गाउँपालिकाले चालु आर्थिक वर्षमा उल्लेखनीय प्रगति हासिल गरेको छ । गाउँपालिकामा सम्झौता गरिएका ६७ वटा योजनामध्ये हालसम्म ४१ वटा सम्पन्न भइसकेका छन् । बराहपोखरी गाउँपालिकाले वैशाख २५ गते आयोजित सार्वजनिक सुनुवाइका क्रममा उक्त जानकारी सार्वजनिक गरेको हो ।

    गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलका अनुसार आर्थिक वर्ष २०८१्०८२ मा वडागत रूपमा योजना कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको छ । वडा नम्बर १ बराहपोखरीमा १८ मध्ये ८ वटा, वडा नम्बर २ सुन्तलेमा १० मध्ये ८ वटा, वडा नम्बर ३ साउनेचौरमा ११ मध्ये ७ वटा, वडा नम्बर ४ फाक्टाङमा १२ मध्ये ८ वटा, वडा नम्बर ५ पौवासेरामा ८ मध्ये ४ वटा र वडा नम्बर ६ मौवाबोटेमा ८ मध्ये ६ वटा योजनाहरू सम्पन्न भइसकेका छन् ।

    बाँकी रहेका २६ वटा योजनाहरू पनि अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । बजेट कार्यान्वयनको अवस्था पनि उत्साहजनक रहेको छ । लेखा अधिकृत छत्रबहादुर बानियाँका अनुसार चालु आर्थिक वर्षको कुल बजेटमध्ये ५८.५७ प्रतिशत खर्च भइसकेको छ ।

    चालुतर्फ ६३.६४ प्रतिशत र पुँजीगततर्फ ४७.९४ प्रतिशत बजेट खर्च भएको छ । चालु आर्थिक वर्षका लागि गाउँपालिकाले रु ३२ करोड ९२ लाख ३५ हजारको बजेट प्रक्षेपण गरेको थियो । संघीय समानीकरणतर्फको रु ५ करोड ४६ लाख ७० हजारमध्ये हालसम्म रु ४ करोड ४५ लाख ७५ हजार खर्च भएको छ भने सशर्त अनुदानतर्फ रु १३ करोड ३८ लाख ४९ हजार प्रक्षेपण गरिएकोमा रु १० करोड ४ लाख ४ हजार आम्दानी भई रु ९ करोड २० लाख ९५ हजार खर्च भएको छ ।

    यस्तै सशर्त आइडि श्रोततर्फ, वैदेशिक श्रोत अनुदानतर्फ, एसएसबी अनुदानतर्फ लगायत अन्य शीर्षकमा पनि उल्लेखनीय प्रगति हासिल भएको छ । संघीय सरकारको समपुरक अनुदानतर्फ रु १ करोड ५० लाखमध्ये रु १ करोड १२ लाख ५० हजार आम्दानी भई सबै रकम खर्च भएको छ । त्यसैगरी प्रदेश समपुरकतर्फ रु ९४ लाखमध्ये रु ७० लाख ५० हजार आम्दानी भई सो रकम पनि पूर्ण रूपमा खर्च भएको गाउँपालिकाले जनाएको छ ।

    संघीय राजस्व बाँडफाँडतर्फ रु ७ करोड ८६ लाखमध्ये रु ४ करोड ८३ लाख ५४ हजार आम्दानी हुँदा रु ४ करोड ४६ लाख ५५ हजार खर्च भएको छ । प्रदेश राजस्व बाँडफाँडतर्फ भने रु ३१ लाख ९३ हजारमध्ये रु २१ लाख १२ हजार आम्दानी हुँदा रु १८ लाख ५८ हजार खर्च भएको छ ।

    गाउँपालिकाको प्राङ्गणमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिकहरूले विभिन्न प्रश्न उठाएका थिए । ईश्वर बञ्जरा, कौशल श्रेष्ठ, राजेश बञ्जरा लगायत २० भन्दा बढी व्यक्तिहरूले गाउँपालिकाबाट सम्पादित योजनाहरूबारे जिज्ञासा राखेका थिए । प्रश्नकर्ताहरूले गाउँपालिकाबाट सञ्चालित कार्यक्रमहरू जनमुखी बनाउँदै गुणस्तरमा ध्यान दिन सुझाव दिएका थिए ।

    कार्यक्रममा जवाफदेही वक्ताका रूपमा गाउँपालिका प्रमुख शालिकराम बञ्जरा, उपप्रमुख भूबलराज राई र प्रमुख प्रशासकीय अधिकृत दिलकुमार अधिकारी लगायतले प्रश्नकर्ताहरूको जिज्ञासा समाधान गरेका थिए । गाउँपालिकाका जनप्रतिनिधिहरूले आफूहरूको ध्यान पारदर्शीरूपमा जनताको सेवामा समर्पित रहेको प्रतिक्रिया दिएका छन् ।

    सुशासन प्रवर्द्धन, भ्रष्टाचार निवारण र प्रभावकारी सेवा प्रवाहलाई सुनिश्चित गर्न सार्वजनिक सुनुवाई अनिवार्य गरिएको छ । स्थानीय तहका सरकारी निकायहरूले आफूले गरेका काम कारबाहीको विषयमा आम नागरिकहरूलाई जानकारी गराउन हरेक चौमासिकमा कम्तीमा एक पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधान राखेको भएपनि यस सम्बन्धी सम्बन्धित निकायले चासो राखेको पाईदैन । बराहपोखरी गाउँपालिकाले भने पत्रकार महासंघ खोटाङको समन्वयमा वार्षिकरुपमा सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै आएको छ ।

    सम्बन्धित समाचार