Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठलाई

    ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठलाई


    • शनिवार, बैशाख २७ २०८२

    • नेपाल वाइड


    ‘खुला हाफ म्याराथन–२०८२’को उपाधि सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठलाई
    ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि जितेका नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपानेलगायत अतिथिहरु ।

    खोटाङ, २७ वैशाख । खोटाङको दिक्तेल बजारमा आयोजित ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि नेपाली सेनाका पूर्णलक्ष्मी न्यौपाने र सञ्जय श्रेष्ठले जितेका छन् ।

    नेपाल खेलकुद प्रतिष्ठान खोटाङद्वारा आयोजित महोत्सवको पहिलो दिन शनिबार भएको २१ किलोमिटर लामो हाफ म्याराथनमा महिलातर्फ न्यौपानेले एक घण्टा २७ मिनेट १६ सेकेण्ड तथा पुरुषतर्फ श्रेष्ठले एक घण्टा आठ मिनेट १४ सेकेण्डमा दूरी पूरा गरी उपाधि हासिल गरेका हुन् ।

    महिलातर्फको प्रतिस्पर्धामा नेपाली सेनाकै निर्मला केसीले एक घण्टा २७ मिनेट ४० सेकेण्डमा दूरी पार गरी दोस्रो तथा निशा सार्कीले एक घण्टा २७ मिनेट ४९ सेकेण्डमा दूरी पार गरी तेस्रो स्थान हासिल गरेका छन् ।

    त्यसैगरी पाँचथरकी पुष्पा शोर्पा चौथो, खोटाङकी दीपा बस्नेत पाँचौँ, भोजपुरकी रुष्मा राई छैटौँ, रणभीम गण मुडे ब्यारेकका अमिसा राई सातौँ तथा रणभीम गणकै पिपलसुख राई आठौँ स्थानमा रहेका छन् ।

    पुरुषतर्फको म्याराथनमा पनि नेपाली सेनाकै नरेन्द्रसिं रावत दोस्रो र सुशिल शाही तेस्रो भएका छन् । नेपाल प्रहरीका अजितकुमार यादव चौथो, तेह्रथुमका सरोज लिम्बू पाँचौँ, नेपाली सेनाका रामजी बस्नेत छैटौँ, नेपाली सेनाकै कर्णबहादुर रोकामगर सातौँ तथा केन्याका जोन इकिरु केलाई आठौँ स्थानमा रहेका छन् ।

    विजेता खेलाडीहरूलाई प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेलाई क्रमशः रु ७७,७७७, रु ५५,५५५, रु २५,५५५, रु १५,५५५, रु ११,१११, रु ७,७७७ र रु ५,५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

    ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत खुला महिला÷पुरुष हाफ म्याराथनको उपाधि जितेका नेपाली सेनाका सञ्जय श्रेष्ठलगायत ।.jpg

    ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत खुला महिला/पुरुष हाफ म्याराथनको उपाधि जितेका नेपाली सेनाका सञ्जय श्रेष्ठलगायत अतिथिहरु ।

    कोशी प्रदेश सरकारका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पिके’, संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतले विजयी धावकहरूलाई पुरस्कार वितरण गरेका थिए । महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला/पुरुष हाफ म्याराथनसहित खुला दौड, खुला महिला/पुरुष टेबलटेनिस, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिएका छन् ।

    खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रुपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले यस महोत्सवको आयोजना गरिएको छ ।

    महोत्सवको चौथो र पाँचौँ दिन (वैशाख–३० र ३१ गते) खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुनेछ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।

    खुला सिनियर पुरुष टेबलटेनिस प्रतियोगिताअन्तर्गत विजेताहरूले क्रमशः रु २५,०००, रु १२,५०० र सेमिफाइनलिष्ट दुई जनाले रु ६,२५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी, खुला जुनियर पुरुष टेबलटेनिसमा विजेताहरूले क्रमशः रु १५,०००, रु ७,५०० र सेमिफाइनलिष्ट दुईजनाले रु ३,७५० का दरले नगद प्राप्त गर्नेछन् ।

    खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा विजेताहरूले रु १०,०००, रु ५,००० र सेमिफाइनलिष्ट दुईजनाले रु २,५०० का दरले नगद पुरस्कार पाउनेछन् । खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम देखि छैटौँ हुनेले क्रमशः रु २५,०००, रु १५,०००, रु १०,०००, रु ८,०००, रु ७,००० र रु ४,००० सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

    महोत्सवको अन्तिम दिन जेठ–४ गते साहित्यिक कार्यक्रम आयोजना गरिनेछ, जसमा गीत, गजल र कविता गायन तथा वाचन समावेश छन् । महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि योगदान दिइरहेकी एक जना जिल्ला बाहिरका महिला साहित्यकारलाई नगदसहित सम्मान गरिने जनाइएको छ ।

    सम्बन्धित समाचार