Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    बद्रीलाल नेपालीले जिते राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि

    बद्रीलाल नेपालीले जिते राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि


    • बुधवार, बैशाख ३१ २०८२

    • नेपाल वाइड


    बद्रीलाल नेपालीले जिते राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि
    उपाधि विजेता ललितपुरका बद्रीलाल नेपालीलाई पुरस्कार वितरण गर्नुहुदै बुद्धिचाल महासङ्घ नेपालका अध्यक्ष हेराकाजी मर्हजनलगायत अतिथिहरु ।

    खोटाङ, ३१ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङद्वारा आयोजित ‘दोस्रो बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ अन्तर्गत बुधबार सम्पन्न ‘खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता–२०८२’ को उपाधि ललितपुरका बद्रीलाल नेपालीले हात पारेका छन् । स्वीस लिग अन्तर्गत सञ्चालित सात राउण्डको प्रतियोगितामा नेपालीले ६.५ अंक जोड्दै प्रथम स्थान हासिल गरेका हुन् ।

    समान ५.५ अङ्क जोड्दै सुनसरीका हिमाल राई दोस्रो तथा खोटाङका धिरेन राई तेस्रो भएका छन् । प्रतियोगितामा रौतहटका रुपेश जैसवाल चौथो, सुनसरीका मुहाननर्सिङ श्रेष्ठ पाँचौँ, झापाका सुमन श्रेष्ठ छैटौँ, भोजपुरका प्रदीप राई सातौँ, काठमाडौँका नवीन तन्दुकार आठौँ, झापाका राजन सुवेदी नवौँ र मोरङका उमेश राई दशौँ स्थानमा रहेका छन् ।

    विभिन्न जिल्लाका ४१ जना खेलाडी सहभागी प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु २५ हजार, रु १५ हजार र रु १० हजार प्राप्त गरेका छन् । चौथोदेखि पाँचौँसम्म क्रमशः रु ८ हजार र रु ७ हजार तथा छैटौँदेखि दशौँसम्मका खेलाडीले जनही रु ४–४ हजारका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

    प्रतियोगितामा अनरेटेटतर्फ दाङका बेदु सारुमगर, भेट्रानतर्फ सुनसरीका चुडामणि कुलुङ राई, खोटाङ प्रथममा हलेसी तुवाचुङ नगरपालिका–७ का दयन्द्र राई, १६ वर्षमुनिकामा दिक्तेलका सुयव सैँजू तथा दिक्तेल रुपाकोट मझुवागढी नगर प्रथममा पदमकुमार राई सर्वोत्कृष्ट भएका छन् ।

    पूर्वनेपाल च्याम्पियनसमेत रहेका उपाधि विजेता नेपालीलाई पुरस्कार बुद्धिचाल महासङ्घ नेपालका अध्यक्ष हेराकाजी मर्हजनलगायतले प्रदान गरेका थिए । महोत्सव समापनको अवसरमा जेठ ४ गते जिल्ला बाहिरका एकजना महिला साहित्यकारलाई नगदसहित सम्मान गरिने नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिए ।

    सम्बन्धित समाचार