Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा तीन पक्की पुल निर्माणका लागि कोशी प्रदेशबाट ३९ करोड बढीको बजेट सुनिश्चित

    खोटाङमा तीन पक्की पुल निर्माणका लागि कोशी प्रदेशबाट ३९ करोड बढीको बजेट सुनिश्चित


    • शनिवार, जेठ ३ २०८२

    • नेपाल वाइड


    खोटाङमा तीन पक्की पुल निर्माणका लागि कोशी प्रदेशबाट ३९ करोड बढीको बजेट सुनिश्चित
    कोशी प्रदेशका भौतिक पूर्वाधार एवम् स्वास्थ्य मन्त्री भुपेन्द्र राई ।

    खोटाङ, ४ जेठ । खोटाङका विभिन्न स्थानहरूमा तीन वटा मोटरेबल पुल निर्माणका लागि कोशी प्रदेश सरकारले ३९ करोड ४९ लाख ५५ हजार रुपैयाँको बजेट स्रोत सुनिश्चित गरेको छ । कोशी प्रदेशका भौतिक पूर्वाधार एवम् स्वास्थ्य मन्त्री भुपेन्द्र राईका अनुसार जिल्लाको १ नम्बर क्षेत्रमा पर्ने दुई वटा र २ नम्बर क्षेत्रमा एक वटा मोटरेबल पुल निर्माण योजना सम्पन्न गर्न बजेटको श्रोत सुनिशिचत गरिएको हो ।

    प्रदेश सरकारको अर्थमन्त्रालयले भौतिक पूर्वाधार मन्त्रालयलाई उक्त बजेटको स्रोत सहमति प्रदान गरेको हो । रावाबेँसी गाउँपालिका–६ हौंचुर र सोही पालिकाको वडा नम्बर–१ कुभिण्डे जोड्ने लोचाखोलामा मोटरेबल पुल निर्माणका लागि ५ करोड ११ लाख ४६ हजार रुपैयाँ बजेटको श्रोत सुनिश्चित गरिएको मन्त्री राईले बताए ।

    त्यसैगरी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका हुँदै केपिलासगढी गाउँपालिकाको खार्ताम्चा जोड्ने शनिबारेस्थित तापखोलामा पुल निर्माणका लागि ८ करोड ६८ लाख ४९ हजार रुपैयाँको बजेट सुनिश्चित गरिएको छ ।

    उक्त क्षेत्रमा मोटरेबल पुल नहुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र केपिलासगढी गाउँपालिकाबीच आवतजावत गर्न स्थानीय नागरिकहरूले लामो समयदेखि कठिनाई भोग्दै आएका थिए । ग्रामीण सडक निर्माण भएको लामो समयपछि तापखोलामा मोटरेबल पुल निर्माण हुने खबरले त्यस क्षेत्रका नागरिकहरू उत्साहित बनेका छन् ।

    यस्तै जिल्लाको २ नम्बर क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिका–१ को रुवाफेदीस्थित बुवाखोलामा मोटरेबल पुल निर्माणका लागि २५ करोड ६९ लाख ६० हजार रुपैयाँको स्रोत सहमति जुटाइएको मन्त्री राईले बताए । बुवाखोलमा मोटरेबल पुल नहुँदा गाउँपालिकाको एक वडाबाट अर्को वडामा पुग्नसमेत स्थानीयवासीहरूले निकै समस्या भोग्दै आएका थिए ।

    बुवाखोलामा पुल निर्माणका लागि आर्थिक वर्ष २०८१/८२ मा १ करोड, तापखोला सडकपुलका लागि २५ लाख र लोचाखोला सडकपुल निर्माणका लागि २५ लाख बजेट विनियोजन भइसकेको छ । तीन वटै मोटररेवल सडकपुल निर्माण योजनालाई बहुवर्षिय योजनामार्फत बजेट सुनिश्चित गरिएको मन्त्री राईको भनाई छ । बजेटको स्रोत सुनिश्चित भएसँगै तत्काल टेन्डर प्रक्रियामार्फत पुल निर्माणको काम अगाडि बढाइने मन्त्री राईले बताए ।

    सम्बन्धित समाचार