आइतवार, जेठ ४ २०८२
नेपाल वाइड
खोटाङ, ४ जेठ । खोटाङबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने छोटो मार्ग ‘फोक्सिङटार–धाप्लाङघाट सडक’ निर्माण कार्य शुरु गरिएको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–६ आँपटारको सिमानामा पर्ने सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले बगाएपछि वैकल्पिक बाटोको रुपमा प्रयोग गर्नका लागि उक्त सडकको निर्माण कार्य शुरु गरिएको हो ।
कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको रु एक करोड २० लाखमा पूरा हुने सडक पहिलो चरणमा रु ४५ लाखबाट निर्माण शुरु गरिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–३ साउनेचउरको लामाचउरमा शनिबार आयोजित कार्यक्रममा कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले वैकल्पिक सडकको शिलान्यास गर्नुभएको छ ।
गत असोज–१२ गते आएको भीषण बाढीले बगाएको फोक्सिङटारको पुल पुनः निर्माण गर्न समय लाग्ने र धाप्लाङघाटको पुल चाँडै बन्ने भएकाले वैकल्पिक सडकका रुपमा फोक्सिङटार–धाप्लाङघाट सडकको ट्र्याक खोल्न शुरु गरिएको मन्त्री राईले बताए ।
उपभोक्ता समितिबाट काम गर्नेगरी उक्त सडकको औपचारिक रुपमा शिलान्यास गरेर निर्माणको कामसमेत शुरु गरिएको छ । सडक निर्माणका लागि पहिलो पटक विनियोजन गरिएको बजेट मन्त्रालयले बराहपोखरी गाउँपालिकालाई हस्तान्तरण गरिसकेको जनाइएको छ ।
बाँकी बजेटको काम भने, मन्त्रालयबाट ठेक्का आव्हान गरेर ठेकेदारमार्फत् गर्नेगरी प्रक्रिया अगाडि बढाइएको मन्त्री राईको सचिवालयले जानकारी दिएको छ ।
वैकल्पिक सडक निर्माणको काम सम्पन्न भएपछि खोटाङका नागरिकले सुनकोशी नदीको किनारै किनार फोक्सिङटारदेखि साउनेचउर, बङदुवा, आसाबाला, अजिङगरे, भोर्मा हुँदै धाप्लाङघाटसम्म यात्रा गर्न पाउनेछन् । धाप्लाङघाटबाट उदयपुरको साउने हुँदै तराई झर्नका लागि सबैभन्दा छोटो मार्ग हुने जनाइएको छ । फोक्सिङटारबाट नयाँ सडक जोड्न लागिएको धाप्लाङघाटस्थित सुनकोशी नदीमा समेत मोटरेबल पक्की पुल निर्माणको काम भइरहेको छ ।
फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि भौतिक पूर्वाधार विकासमन्त्री राईले गत माघ–१२ गते वैकल्पिक मार्ग खोल्नका लागि सम्भाव्यता अध्ययनका लागि पैदल यात्रा गरेका थिए ।
निर्माण सम्पन्न भएको वर्ष दिन नबित्दै बाढीले बगाएको फोक्सिङटार पुलको विकल्पमा अहिले अस्थायी बेलिब्रिज सञ्चालन गरिएको छ । नयाँ सडक निर्माणले खोटाङका स्थानीयहरूलाई पूर्वी तराईसँग सहज र छिटो यातायात सम्पर्क स्थापना गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।