सोमवार, जेठ ५ २०८२
नेपाल वाइड
खोटाङ, ५ जेठ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका बेरुजु फछ्र्योटमा जिल्ला प्रथम बनेको छ । १० स्थानिय तह रहेको यस जिल्लामा नगरपालिकाले आफ्नो बेरुजु रकमलाई ०.१५ प्रतिशतमा झारेर जिल्लामा पहिलो स्थान हासिल गरेको हो ।
महालेखापरीक्षकको ६२ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ को नगरपालिकाको बेरुजु ०.१५ प्रतिशत अर्थात २३ लाख ६७ हजार रहेको छ । हरेक वर्ष बेरुजु रकम घटाउदै आएको नगरपालिका वर्ष पनि खोटाङ जिल्लाको सबै भन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ ।
हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुने स्थानीय तहमा जिल्लाको पहिलो र कोशी प्रदेशको तेस्रो भएको छ । देशभरको ७५३ स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिका बेरुजु कम हुनेमा १० औँ नम्बरमा रहेको छ ।
खोटाङ जिल्लाको दोस्रो स्थानमा ऐसेलुखर्क गाउँपालिका रहेको छ, जसको बेरुजु ०.५० प्रतिशत अर्थात ५७ लाख ३५ हजार रुपैयाँ छ । त्यसपछि क्रमशः रावा बेसी गाउँपालिका (०.७३ प्रतिशत), केपिलासगढी गाउँपालिका (०.४८ प्रतिशत), दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका (१.२४ प्रतिशत), दिप्रुङ चुईचुम्मा गाउँपालिका (१.०७ प्रतिशत), बराहपोखरी गाउँपालिका (१.८८ प्रतिशत), जन्तेढुंगा गाउँपालिका (१.४६ प्रतिशत) र खोटेहाङ गाउँपालिका (१.४६ प्रतिशत) रहेका छन् ।
जिल्लामा सबैभन्दा बढी बेरुजु साकेला गाउँपालिकाको २.४३ प्रतिशत अर्थात दुई करोड ७१ लाख दुई हजार रुपैयाँ रहेको छ । यद्यपि, यस वर्ष खोटाङका सबै स्थानीय तहहरूले आफ्नो बेरुजु रकम घटाउन सफल भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाको बेरुजु यस वर्ष बेरुजु २३ लाख ६७ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्ष ८७ लाख २४ हजार रुपैयाँ थियो ।
आर्थिक वर्ष २०७८/०७९ मा यो रकम ३ करोड ३३ लाख २६ हजार रुपैयाँ थियो र त्यसअघि झन् बढी, ९ करोड रुपैयाँसम्म पुगेको थियो । नगर प्रमुख विमला राईले यो सफलताको श्रेय कानूनी मापदण्डभित्र रहेर काम गर्ने नगरपालिकाको नीतिलाई दिएकी छन् ।
मेयर राईका अनुसार, “हरेक काम हामीले नियम कानून भित्र रहेर गरिरहेका छौँ । कानून, ऐनले दिएको अधिकार भित्र रहेर नगरपालिका सञ्चालन गरिरहेका छौँ, जसको नतिजा बेरुजु कम हुँदै जानुले प्रष्ट पार्छ ।” नगर प्रमुख राईले महिला नेतृत्वको सामथ्र्य र पारदर्शिताको महत्वलाई पनि जोड दिएकी छन् ।