Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको दक्षिणी क्षेत्र सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की सञ्चालनमा

    खोटाङको दक्षिणी क्षेत्र सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की सञ्चालनमा


    • शनिवार, जेठ १० २०८२

    • नेपाल वाइड


    खोटाङको दक्षिणी क्षेत्र सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की सञ्चालनमा
    पुलको रिबन काटेर उद्घघाटन गर्नुहुदै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राई, जन्तेढुङगा गाँउपालिकाका अध्यक्ष अरुणादेवी राई, खोटेहाङ गाँउपालिकाका अध्यक्ष उदिम राईराईलगायत अतिथिहरु ।

    खोटाङ, १० जेठ । खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा अवस्थित सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल सञ्चालनमा ल्याईएको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले रिबन काटेर उक्त पुलको उद्घाटन गरेसँगै शनिबारदेखि औपचारिकरुपमा पुल संञ्चालनमा ल्याईएको हो ।

    कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको सशर्त अनुदान अन्तर्गत आठ करोड २१ लाख ७२ हजार ८९४ रुपैयाँ लागतमा निर्माण गरिएको उक्त पुल खोटेहाङ गाउँपालिका–७ खोटाङबजार र जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीको सिमानामा रहेको सावाखोलाको भानुमति घाटमा अवस्थित छ ।

    Photo 1.jpg

    जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ र जन्तेढुङ्गा गाउँपालिकाको सिमानामा अवस्थित सावाखोलामा निर्माण गरिएको मोटरेबल पक्की पुल ।

    ४१ दशमलव ४० मिटर लम्बाई र ८ दशमलव ४० मिटर चौडाइको पुलमा दुबैतर्फ १ दशमलव २० मिटरको फुटपाथसमेत निर्माण गरिएको छ । लामो समयदेखि सावाखोलामा पक्की पुलको अभावमा खोटाङबजार–चिसापानी सडकखण्डमा यातायात अवरुद्धको समस्या भोग्दै आएकाहरुका लागि आवातजातवमा सहज भएको छ ।

    विशेषगरी हिउँदको समयमा करिब छ महिनामात्र यातायातका सवारी साधन सञ्चालन हुँदै आएको उक्त सडकखण्डमा अब बाह्रै महिना यातायात सेवा उपलब्ध गराउने तयारी भएको यातायात व्यवसायीहरुले जनाएका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले खोटाङको विकासलाई प्रदेश सरकारले प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विकासका कामहरुलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताए ।

    उहाँले सावाखोलाको पुल सम्पन्न गरेर सञ्चालनमा ल्याएको, बुँवाखोलाको पुल द्रुत गतिमा निर्माण भइरहेको र सुनकोशीस्थित बङ्शिला घाटको पक्की पुल पनि समयमै निर्माण सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइरहेको जानकारी दिए ।

    मन्त्री राईले सुनकोशीको बङ्शिलाघाट र धाप्लाङघाटको पक्की पुल निर्माण भएपछि खोटाङवासीको दुःखका दिनहरु सकिने र समृद्धिको बाटो खुल्ने विश्वास व्यक्त गरे । उहाँले दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पक्की पुल बाढीले बगाएपछि अवरुद्ध बनेको पूर्वी तराईसँगको आवतजावतलाई सहज बनाउन प्रदेश सरकारको लगानीमा फोक्सिङटारदेखि धाप्लाङघाटसम्मको नयाँ सडक निर्माण शुरु गरिएको जानकारी समेत दिए ।

    rttt.jpg

    सावाखोलामा मोटरेबल पक्की पुल निर्माण भएसँगै खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका स्थानीयवासीलाई बेलटार हुँदै तराई जान र जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाका स्थानीय बासिन्दालाई सदरमुकाम दिक्तेल र इलाका प्रशासन कार्यालय खोटाङबजार आउने–जाने कार्यमा सहजता आएको खोटेहाङ गाउँपालिकाका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले जानकारी दिए ।

    सुसम–आदित्य–विजय निर्माण सेवा उदयपुर नामक निर्माण कम्पनीले यो पुल निर्माण गरेको हो । विसं २०८० वैशाख ११ गते निर्माण कम्पनीले सडक विभागसँग दुई वर्षभित्र सम्पन्न गर्ने गरी सम्झौता गरेर निर्माणको काम शुरु गरेको थियो । निर्माण कम्पनीले समयमै पुल निर्माणको काम सम्पन्न गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरेपछि शनिबार औपचारिकरुपमा उद्घाटन गरिएको हो ।

    प्रदेश सरकारले निर्माण कम्पनीलाई भुक्तानी समेत गरिसकेको जनाइएको छ । नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्रीसमेत रहनुभएका मन्त्री राईले खोटाङको विकास निर्माणमा हातेमालो गर्दै अगाडि बढ्न सबै जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूलाई आव्हान गर्नुभएको छ ।

    उद्घाटन कार्यक्रममा दक्षिणी क्षेत्रमा पर्ने स्थानीय तहका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सम्बन्धित मन्त्रालयका सचिव तथा इन्जिनियर र स्थानीयवासीहरुको व्यापक सहभागिता रहेको थियो । सावाखोलाको मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै खोटाङ जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दाहरुको लामो समयको आकांक्षा पूरा भएको छ । यस मोटरेबल पुलले यातायातमा सहजता ल्याउनुका साथै स्थानीय अर्थतन्त्रको विकासमा समेत उतिकै योगदान पुर्याउने छ ।

    सम्बन्धित समाचार