सोमवार, आषाढ २ २०८२
नेपाल वाइड
खोटाङ, २ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पिपचाहीका स्थानीयवासीले अब शुद्ध पानी पिउन पाउने भएका छन् । नगरपालिकाले ‘एक घर, एक फिल्टर’ अवधारणा अनुसार बायो स्याण्ड फिल्टर वितरण गरेपछि यहाँका २६ घर परिवारले दूषित पानी पिउनुपर्ने बाध्यताबाट मुक्ति पाएका हुन् ।
पिपचाही गाउँमा पानीको सुविधा भएपनि मुहान दूषित हुँदा स्थानीयवासीलाई दूषित पानी पिउनुपर्ने बाध्यता थियो । गाउँभन्दा करिब ८०० मिटर टाढा पर्ने धामीखोलाबाट पाइपमार्फत ल्याइएको पानी दूषित रहेको पाइएको छ ।
विसं २०४० सालमा निर्माण गरिएको सानो ट्याङ्कीमा खोलाको पानी जम्मा गरेर गाउँलेले प्रयोग गर्दै आएका थिए । च्यास्मिटारका वडाध्यक्ष भुपालसिं राईका अनुसार दूषित पानी उपभोगका कारण स्थानीयलाई विभिन्न प्रकारका रोगहरू लाग्ने गरेको थियो । स्थानीयवासी एवम् च्यास्मिटार माविका शिक्षक तेजकुमार राईले पनि शुद्धीकरणका लागि नगरपालिकासँग फिल्टर माग गरिएको जानकारी दिए ।
हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोग तथा वेष्ट पानी कम्पनी लिमिटेडको प्राविधिक सहयोगमा बायो स्याण्ड फिल्टर निःशुल्क वितरण गरिएको हो । नगरप्रमुख विमला राईले हरेक घरमा शुद्ध पानी उपलब्ध गराउने नगरपालिकाको योजना अनुसार फिल्टर वितरण गरिएको बताइन् । “खोलाको पानी अत्यन्तै दूषित छ । तर, विद्यालयसहित पिपचाहीका सबै स्थानीयले त्यही दूषित पानी पिउनुपर्ने बाध्यता थियो,” नगरप्रमुख राईले भनिन् । नगरपालिकाको तर्फबाट हरेक घरमा फिल्टर उपलब्ध गराएका छौँ । अब कम्तिमा पनि २० वर्ष शुद्ध पानी पिउन पाउने भएका छन् ।” पिपचाहीमा रहेको बाल विकास प्राथमिक विद्यालयमा पनि सोही फिल्टर प्रयोग गरेर पानी प्रशोधित गरिएको छ ।
नगरप्रमुख राई, उपप्रमुख रमेशकुमार राउत, च्यास्मिटारका वडाध्यक्ष राईलगायतको उपस्थितिमा शनिबार विद्यालयमा जडान गरिएको प्रशोधित पानी पिउँदै गाउँभरिका सबै घरका लागि फिल्टर वितरण गरिएको हो । उपप्रमुख राउतले च्यास्मिटार माध्यमिक विद्यालयमा अघिल्लो वर्ष सोही प्रकारको फिल्टर जडान गरेर आकाशे पानी जम्मा गर्दै पिउन योग्य बनाइएको जानकारी दिए ।
उक्त प्रविधि उचित देखिएपछि पिपचाहीका नागरिकलाई समेत सोही प्रविधि प्रयोग गरेर शुद्ध पानी उपभोग गराउनेगरी हरेक घरलाई एक/एकवटा फिल्टर प्रदान गरिएको उनले बताए । वेष्ट पानी कम्पनीका प्राविधिक इन्जिनियर गोकुल दङ्गालका अनुसार सुख्खाग्रस्त क्षेत्रमा पर्ने च्यास्मिटार पिपचाहीका नागरिकलाई वितरण गरिएको फिल्टरले एक घण्टामा दश लिटरसम्म पानी प्रशोधन गर्न सक्छ । एक घरका दश जनासम्मको परिवारलाई पिउन र खाना पकाउन उक्त फिल्टरले प्रशोधन गरेको पानीले पुग्ने इन्जिनियर दङ्गालले जानकारी दिए ।
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यस नगरपालिकामा च्यास्मिटारसँगै सबै वडामा खानेपानीको समस्या छ । धार्मिकस्थल हलेसीसमेत रहेको यस हलेसी तुवाचुङ नगरपालिकामा वर्षाको पानी सङ्कलन गरेर तथा कोशीको पानी गाग्रोमा बोकेर उपभोग गर्नुपर्ने बाध्यात्मक अवस्था छ ।
लामो समयदेखिको खानेपानी समस्या भोग्दै आएका हलेसी क्षेत्रका करिब २० हजार नागरिकको घरमा खानेपानीको धारा उपलब्ध गराउनेगरी शुरु गरिएको बृहत हलेसी लिफ्टिङ खानेपानी आयोजनाको काम शुरु गरिएपनि पूरा हुन सकेको छैन । यस्तो परिस्थितिमा बायो स्याण्ड फिल्टर वितरणले पिपचाहीका बासिन्दाका लागि तत्कालीन राहत प्रदान गरेको छ ।