बुधवार, आषाढ ४ २०८२
नेपाल वाइड
खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकाले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने २० जना व्यक्ति र संस्थालाई पुरस्कृत गरेको छ । गाउँपालिकाको वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा बिहीबार आयोजित समारोहमा कृषि, शिक्षा, स्वास्थ्य र निर्माण क्षेत्रका उत्कृष्ट कर्मचारी तथा व्यक्तित्वहरूलाई सम्मान गरिएको हो ।
गाउँपालिकाले कृषि क्षेत्रमा उत्कृष्ट काम गर्ने चार कृषकलाई सम्मान तथा पुरस्कृत गरेको छ । सबैभन्दा बढी अन्नबाली उत्पादन गर्ने वडा नं. ७ खोटाङबजारका बमबहादुर नेपाली, फलफूल उत्पादनमा अग्रणी भूमिका खेल्ने वडा नं. १ लिकुवापोखरीका मणिकुमार राई, नगदेबाली उत्पादनमा उत्कृष्ट उत्पादन गर्नुहुने वडा नं. ३ सावाकटहरेका बलजित राई र पशुपञ्छी पालनमा वडा नं. ८ सिम्पानीका रामकुमार पोखरेललाई १५/१५ हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईका अनुसार सम्मानित कृषकहरूले आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरेर अन्य कृषकहरूका लागि प्रेरणाको स्रोत बनेका कारण पालिकाले पुरस्कार तथा सम्मान गरिएको बताए । शिक्षा क्षेत्रमा उत्कृष्र्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक ल्याएर उत्तीर्ण हुने राधा सिग्देल, माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट प्रदर्शन गर्ने कृष्ण बुढाथोकी र गाउँपालिकाले सञ्चालन गरेको कक्षा ८ को परीक्षामा उत्कृष्ट अंक ल्याउने अनुपमा बस्नेतलाई ७/७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
यस्तै उत्कृष्ठ शिक्षकहरुमा माध्यमिक तहमा सिम्पानी माध्यमिक विद्यालयका जगत बस्नेत, निम्न माध्यमिक तहमा विणा माध्यमिक विद्यालय लिकुवापोखरीका मिलन तामाङ र प्राथमिक तहमा माहाङकला माध्यमिक विद्यालय लिच्कीराम्चेका देवेन्द्र चौधरीलाई वर्षका उत्कृष्ट शिक्षकको रूपमा ७–७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
गाउँपालिकाले सामुदायिक विद्यालयका विभिन्न पदमा काम गर्ने कर्मचारीहरूलाई पनि सम्मान गरेको छ । उत्कृष्ट लेखा कर्मचारीमा इश्वर श्रेष्ठ, बाल विकास सहजकर्तामा रोजिना राई र कार्यालय सहयोगीमा विपिन रोक्कालाई ७/७ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । पुरस्कृत व्यक्तिहरूले आफ्नो कामक्षेत्रमा देखाएको लगनशीलता र इमानदारीले उनीहरूलाई सम्मानको हकदार बनाएको छ । विद्यालय क्षेत्रमा पनि उत्कृष्ट काम शैक्षिक संस्थाहरूलाई पुरस्कृत गरिएको छ ।
माध्यमिक तहको उत्कृष्ट विद्यालयमा भगवती दिनानाथ माध्यमिक विद्यालय खोटाङबजार र निम्न माध्यमिक तहको उत्कृष्ट विद्यालयमा सिद्ध आधारभूत विद्यालय खोटाङबजारलाई १५/१५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ । यस्तै यस आर्थिक वर्ष गठन भएका निर्माण उपभोक्ता समितिहरूमध्ये सबैभन्दा उत्कृष्ट काम गर्ने इलाका प्रशासन कार्यालय भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष तीलकबहादुर कामीसहित समितिका अन्य पादाधिकारीहरुलाई १५ हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको छ ।
उनीहरूले तोकिएको भन्दा बढी र गुणस्तरीय काम गरेको भन्दै पुरस्कृत तथा सम्मान प्रदान गरिएको गाँउपालिकाले जनाएको छ । स्वास्थ्य र प्रशासनिक क्षेत्रमा पनि उत्कृष्ट कर्मचारीहरूलाई सम्मान गरिएको छ । एमआईएस अपरेटर रोशन पौडेल, आधारभूत अस्पताल इन्द्रेणीपोखरीका हेल्थ असिस्टेन्ट सुमन दाहाल र उही अस्पतालका कार्यालय सहयोगी केदार कार्कीलाई उत्कृष्ट सेवाको लागि पुरस्कृत गरिएको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित भव्य समारोहमा गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’, उपप्रमुख रुपेश राई र प्रमुख प्रशासकीय अधिकृत महेश राईले संयुक्त रूपमा पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरू, सरोकारवाला निकायका पदाधिकारीहरू र सर्वसाधारणको व्यापक उपस्थिति रहेको थियो ।
पुरस्कृत कृषक बलजित राईले आफ्नो प्रतिक्रिया दिँदै भावुक शब्दहरूमा भने, “विशेषगरी कृषकहरू हेपिएका छन् । कृषक भन्ने बित्तिकै हेयको दृष्टिले हेर्नै चलन छ । म कृषक हुँ । मलाई आफू कृषक हुनुमा गर्व लाग्छ । स्थानीय सरकारले पुरस्कृत गर्दा थप हौसला मिलेको छ ।” उनले थप भने, “आफूले गरेको कामलाई गाउँपालिकाले मूल्याङ्कन गरेर पुरस्कृत गर्दा थप जिम्मेवार बन्नका लागि हौसला मिलेको छ ।”
गाउँपालिका अध्यक्ष राईले पुरस्कार वितरणको उद्देश्य स्पष्ट पार्दै भने, “गाउँपालिकाको समग्र विकासका लागि विभिन्न विधा निर्धारण गरेर वर्षैभरि उत्कृष्ट काम गर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहनस्वरूप पुरस्कृत गरिएको हो ।” यस्तो पुरस्कार वितरण कार्यक्रमले स्थानीय स्तरमा उत्कृष्टताको संस्कृति विकास गर्न, प्रतिस्पर्धाको वातावरण सिर्जना गर्न र समग्र विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ । यस कार्यक्रमले खोटेहाङ गाउँपालिकामा विभिन्न क्षेत्रमा काम गर्ने व्यक्तिहरूको मनोबल बढाउने र उनीहरूलाई थप राम्रो काम गर्न प्रेरणा दिने काम गरेको छ । आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूले स्थानीय विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।