Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटेहाङमा भौतिक पूर्वाधार विकास योजनाको ९० प्रतिशत काम सम्पन्न

    खोटेहाङमा भौतिक पूर्वाधार विकास योजनाको ९० प्रतिशत काम सम्पन्न


    • बुधवार, आषाढ ४ २०८२

    • नेपाल वाइड


    खोटेहाङमा भौतिक पूर्वाधार विकास योजनाको ९० प्रतिशत काम सम्पन्न
    खोटेहाङ गाउँपालिकाद्धारा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम ।

    खोटाङ, ४ असार । खोटेहाङ गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि सञ्चालित भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । गाउँपालिकाले बिहीबार आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा उक्त जानकारी सार्वजनिक गरिएको हो । नौ वडा रहेको खोटेहाङ गाउँपालिकाले चालु आर्थिक वर्षमा सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र र खेलमैदान निर्माणलगायत विभिन्न शीर्षकमा ११ वटा भौतिक पूर्वाधार विकास योजना निर्माण गरेको थियो ।

    चालु आर्थिक वर्ष योजनाहरूका लागि गाउँपालिकाले कुल १२ करोड ५४ लाख ८८ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो, जसमध्ये हालसम्म ९ करोड ६० लाख ११ हजार रुपैयाँ खर्च भएको पाइएको छ । गाउँपालिका प्रमुख उदिमबहादुर राई ‘मुक्ति’ले सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरिएका अधिकांश योजनाको भौतिक प्रगति भइसकेको जानकारी दिए ।

    अध्यक्ष राईले भने, “सीमित स्रोत र साधनका बीच काम गरिरहेका छौँ । यो आर्थिक वर्षका लागि निर्माण गरिएका अधिकांश योजना सम्पन्न भइसकेका छन् ।” बहुवर्षे योजनाहरूको हकमा पुनः आर्थिक वर्ष २०८२/८३ मा बजेट विनियोजना गरेर अगाडि बढाउने बताउदै निर्माण गरिएका योजना तथा कार्यक्रममा गुणस्तर निर्धारण, दीगोपना तथा पारदर्शीतालाई मध्यनजर गरेर काम गरिरहेको जानकारी दिए ।

    खोटेहाङ गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा गाउँपालिकास्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय र पत्रकारहरूको उपस्थिति रहेको थियो । सार्वजनिक सुनुवाइमा प्रस्तुत गरिएको कार्यपत्रअनुसार गाउँपालिकाको आर्थिक प्रगति ५९.४३ प्रतिशत सम्पन्न भएको देखिएको छ ।

    कुल ५८ करोड २८ लाख ७३ हजार रुपैयाँ बजेटमा आधारित योजनामा चालुतर्फ ६३.५३ प्रतिशत र पुँजीगततर्फ ४९.६१ प्रतिशत खर्च भएको पाइएको छ । गाउँपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रमका वक्ताहरूले समग्रमा गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरूको कार्यसम्पादन सन्तोषजनक रहेको प्रतिक्रिया दिएका छन् ।

    कार्यक्रममा नेपाली काँग्रेस खोटेहाङ गाउँपालिका कार्यसमिति सभापति प्रेम थापा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव अमरबहादुर बस्नेत, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष दिपेन थुलुङ, भगवती दिनानाथ माविका प्रधानाध्यापक कुमार पराजुली, वडा नं. ४ बडकादियालेका स्थानीयवासी एवम् वडा सदस्य प्रदीप आचार्य लगायतले गुनासा तथा सुझाव दिएका थिए ।

    सहभागीहरूले गाउँपालिकालाई आगामी दिनमा निर्माण गर्ने नीति तथा कार्यक्रममा दिगोपना तथा गुणस्तरमा ध्यान दिन, भुक्तानी समस्या समाधान गर्न, बसाइँसराइ रोक्ने कार्यक्रम बनाउन, विद्यालयहरूलाई समायोजन गरेर आवासीयरूपमा सञ्चालन गर्न तथा परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै स्थानीयवासीलाई व्यवसायिक बनाउन लगायतका सुझाव दिएका छन् । कार्यक्रममा उठेका सवालहरूको गाउँपालिका प्रमुख उदिम राई ‘मुक्ति’ गाउँपालिका उपप्रमुख रुपेश राई र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश राईले जवाफ दिएका थिए ।

    सम्बन्धित समाचार