Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेला गाउँपालिकाद्धारा ‘नवजात शिशु बचत’ योजनासहित ३९ करोड बढीको बजेट सार्वजनिक

    साकेला गाउँपालिकाद्धारा ‘नवजात शिशु बचत’ योजनासहित ३९ करोड बढीको बजेट सार्वजनिक


    • मंगलवार, आषाढ १० २०८२

    • नेपाल वाइड


    साकेला गाउँपालिकाद्धारा ‘नवजात शिशु बचत’ योजनासहित ३९ करोड बढीको बजेट सार्वजनिक
    साकेला गाउँपालिकाको १५ औँ गाउँसभामा निति कार्यक्रम प्रस्तुत गर्नुहुदै पालिका प्रमुख रविप्रकाश राई, उपप्रमुख बिर्सिका राई प्रमुख प्रशासकिय अधिकृत दुर्गा बहादुर राईलगायत ।

    खोटाङ, १० असार । खोटाङको साकेला गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ का लागि ३९ करोड ३० लाख ३९ हजार ६५९ को बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको कार्यालय मात्तिमस्थित मानेभन्ज्याङमा मङ्गलबार सम्पन्न १५ औँ गाउँसभामा उपप्रमुख बिर्सिका राईले उक्त बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

    गाउँपालिकालाई आगामी आर्थिक वर्षमा विभिन्न स्रोतहरूबाट बजेट प्राप्त हुने व्यवस्था मिलाइएको छ । संघीय सरकारको राजश्व बाँडफाँडबाट छ करोड ३२ लाख ५६ हजार ६५९ र समानीकरणतर्फ छ करोड ८९ लाख प्राप्त हुनेछ । प्रदेश सरकारको समानीकरणतर्फबाट ५८ लाख ९ हजार आउने उल्लेख छ ।

    सशर्त अनुदानका रूपमा संघीय सरकारबाट १४ करोड ४ लाख र प्रदेश सरकारबाट ७५ लाख ६५ हजार प्राप्त हुनेछ । यसका अतिरिक्त संघीय सरकारबाट सशर्त अनुदानतर्फ १३ करोड आठ लाख र प्रदेश सरकारबाट एक करोड ७२ लाख ५९ हजार आउने भएको छ । समपूरक अनुदानतर्फ संघीय सरकारबाट रु दुई करोड २२ लाख र प्रदेश सरकारबाट एक करोड ६० लाख प्राप्त हुनेछ ।

    विशेष अनुदानतर्फ संघीय सरकारले एक करोड ५४ लाख उपलब्ध गराउनेछ भने प्रदेश सरकारले सवारी करतर्फ ४९ लाख ९९ हजार दिनेछ । स्थानीय स्रोतका रूपमा आन्तरिक स्रोतबाट ३० लाख, बैङ्क मौज्दातबाट एक करोड २५ लाख, जिल्ला समन्वय समितिबाट साझेदारीतर्फ १८ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट एक लाख ५० हजार र स्थानीय विज्ञापन करबाट दश हजार प्राप्त हुने जनाइएको छ ।

    Sakeala.jpgसाकेला गाउँपालिकाको १५ औँ गाउँसभामा बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै उपप्रमुख बिर्सिका राई ।

    गाउँसभाले आगामी वर्षका लागि चालूतर्फ २७ करोड ४७ लाख एक हजार ६५ र पूँजीगततर्फ ११ करोड ८३ लाख ३८ हजार ९५० विनियोजन गरेको छ । क्षेत्रगत विनियोजनको विश्लेषण गर्दा सामाजिक विकासतर्फ सबैभन्दा बढी १९ करोड २३ लाख ४३ हजार ३३५ छुट्याइएको देखिन्छ ।

    पूर्वाधार विकासतर्फ आठ करोड ६० लाख ९० हजार १५५, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ आठ करोड ३५ लाख ४१ हजार ५९४, आर्थिक विकासतर्फ दुई करोड ३२ लाख ५० हजार र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७८ लाख १५ हजार ६०० बजेट विनियोजन गरिएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ मा ३३ करोड ९५ लाख ६८ हजार ९७८ बजेट विनियोजन भएकोमा हालसम्म ३१ करोड ३८ लाख ८६ हजार ६३४ बजेट आएको गाउँपालिकाका आर्थिक शाखा प्रमुख उत्तम आचार्यले जानकारी दिए ।

    उक्त बजेटमध्ये चालू खर्च १५ करोड ४९ लाख छ हजार ३३६ र पूँजीगततर्फ छ करोड ८१ लाख १५ हजार ५६४ गरी कुल २२ करोड ३० लाख २१ हजार ९०० खर्च भएको छ । आगामी आर्थिक वर्ष साउनदेखि जन्मिने बालबालिकाको नाममा रकम जम्मा गर्ने कार्यक्रम गाउँसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

    अध्यक्ष रविप्रकाश राईले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमअनुसार ‘नवजात शिशु बचत योजना’ अन्तर्गत एसबीआई बैंकसँगको सहकार्यमा खाता खोली प्रत्येक वर्ष रु १० देखि १५ हजारसम्म जम्मा गरिने र उक्त रकम वार्षिक रूपमा बढाउँदै लगिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

    यसरी खोलिएको खातामा बालिकाहरू १८ वर्षको उमेरसम्म पालिकाले आन्तरिक आम्दानीबाट व्यवस्था गर्ने पालिकाका आर्थिक शाखा प्रमुख आचार्यले बताए । ‘नवजात शिशु बचत योजना’ मा खाता खोल्नका लागि केही विशेष मापदण्डहरू तोकिनेछन् । स्वास्थ्य संस्थामा बच्चा जन्माएको हुनुपर्ने, समयमै जन्मदर्ता गराएको हुनुपर्ने, कम्तीमा कक्षा १२ सम्म गाउँपालिकाभित्रकै सामुदायिक विद्यालयमा निरन्तर अध्ययन गरेको हुनुपर्ने, बसाइँ सरेर अन्यत्र जान नपाइनेलगायतका मापदण्ड बनाइने बताइएको छ ।

    यी मापदण्डहरूले समयमै जन्मदर्ता गराउने प्रवृत्तिलाई बढावा दिने र स्थानीय सामुदायिक विद्यालयहरूको गुणस्तर सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार