मंगलवार, आषाढ १० २०८२
नेपाल वाइड
खोटाङ, १० असार । खोटेहाङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ५५ करोड ४८ लाख ९९ हजार ८१९ बराबरको वार्षिक बजेट पारित गरेको छ । मंगलबार खोटाङबजारस्थित गाउँपालिकाको कार्यालयमा सम्पन्न १७ औं गाउँसभामा उपप्रमुख रुपेश राईले यो बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
गाउँसभाबाट स्वीकृत बजेट संघ र प्रदेशबाट प्राप्त बजेट अन्तर्गत अधिकतम समपूरक शिर्षकमा विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष उदिम बहादुर राई ‘मुक्ति’ले खोटेहाङ गाउँपालिका भित्रका पुर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर समपूरक शिर्षक अन्तर्गत बजेट विनियोजन गरिएको जानकारी दिए ।
अध्यक्ष राईका अनुसार पूर्वाधार विकासअन्तर्गत सडक, पुल, विद्युत् बिस्तारलगायत सामाजिक विकासतर्फ शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाका कार्यक्रमहरूलाई विशेष जोड दिइएको छ । बजेटमा सुशासन तथा संस्थागत विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, र सामाजिक विकासलाई समेत प्राथमिकता दिइएको छ ।
आर्थिक विकासको क्षेत्रमा स्थानीय उत्पादन, रोजगारी सृजना र आर्थिक गतिविधिहरूलाई प्रोत्साहन गर्ने योजना रहेको छ । स्वावलम्बी खोटेहाङको अवधारणाअन्तर्गत स्थानीय स्रोत, साधन र क्षमताको अधिकतम उपयोग गरी आर्थिक आत्मनिर्भरता हासिल गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ । १७ औं गाउँसभामा उपस्थित जनप्रतिनिधिहरूले बजेट र नीति कार्यक्रमलाई सर्वसम्मतिले पारित गरेका छन् ।