बुधवार, आषाढ ११ २०८२
नेपाल वाइड
खोटाङ, ११ असार । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि रु ५६ करोड दुई लाख ६८ हजार ५८९ को बजेट पारित गरेको छ । गाउँपालिकाको सभाहल याङ्सोलाटारमा मङ्गलबार सम्पन्न १७ औँ गाउँसभामा उपप्रमुख अरुणा थापामगरले आर्थिक विद्येयक तथा बजेट प्रस्तुत गर्दै यस बजेटमार्फत स्थानीय नागरिकको जीवनस्तर सुधार गर्ने लक्ष्य राखिएको बताइन् ।
यही गाउँसभामा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा पूर्वाधार विकास, शैक्षिक गुणस्तर अभिवृद्धि, कृषिको आधुनिकीकरण, गुणस्तरीय स्वास्थ्य सेवा, खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन, भ्रष्टाचार नियन्त्रण, आन्तरिक रोजगारीमा जोड, लैङ्गिक तथा समावेशीकरण, सूचना प्रविधिमा आधारित सेवा प्रवाह, विपद् व्यवस्थापन लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।
बजेटको स्रोत संरचना हेर्दा सङ्घीय सरकारबाट प्राप्त सशर्त अनुदानबाट २६ करोड ३५ लाख, प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदानबाट एक करोड ३६ लाख पाँच हजार, विशेष अनुदान अन्तरगत सङ्घीय सरकारबाट एक करोड १२ लाख, सङ्घीय सरकारको समपुरक अनुदान एक करोड ४८ लाख, प्रदेश सरकारबाट प्राप्त समपुरक अनुदान एक करोड ३० लाख रहेको गाउँपालिकाले जनाएको छ ।
बजेट विनियोजनको हकमा गाउँपालिका र वडाका लागि चालु प्रशासनिक खर्च रु १२ करोड २७ लाख ५६ हजार ५८९, पालिकास्तरीय पुँजीगत योजनाका लागि रु दश करोड ६२ लाख तथा वडास्तरीय पुँजीगत योजनाका लागि एक करोड ५२ लाख छुट्याइएको उपप्रमुख थापामगरले जानकारी दिए ।
स्वास्थ्य सेवाको क्षेत्रमा गाउँपालिकाले विशेष जोड दिँदै यसअघि लागू गरेको ‘हेल्लो डाक्टर’ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै ‘समृद्ध दिप्रुङ चुइचुम्माका लागि आधारभूत स्वास्थ्य सेवाको ग्यारेन्टी’ भन्ने महत्वपूर्ण नारालाई नीति तथा कार्यक्रममा समेटिएको छ ।
गर्भवतीका लागि जिल्ला बाहिर लैजानुपरेको खण्डमा निःशुल्क एम्बुलेन्स सेवा, वर्षमा एक पटक हरेक नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण, मातृ तथा शिशु मृत्युदर घटाउन घरमा शून्य प्रसुति लगायतका महत्वाकांक्षी कार्यक्रम अघि सारिएको छ । शिक्षा क्षेत्रको सुधारका लागि गाउँपालिकाले कडा नीति अपनाउँदै अर्को शैक्षिकसत्रदेखि जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा सामाजिक अभियान्ताहरुको छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा भर्ना गर्ने नीति ल्याएको छ ।
यसैगरी शिक्षक तथा विद्यालय कर्मचारी कल्याण कोष स्थापना, धुलोरहित कक्षाकोठा निर्माण, क्षमता विकास तालिम लगायत कार्यक्रमहरू समेटिएका छन् । यी कार्यक्रमहरूले शैक्षिक गुणस्तरमा सुधार ल्याउने र सामुदायिक विद्यालयको स्तरोन्नति गर्ने अपेक्षा गरिएको छ । खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम अन्तरगत ‘एक घर, एक धार’ कार्यक्रमको विस्तार गर्ने निर्णय गरिएको छ ।
फोहोरमैला व्यवस्थापनका लागि कबाडीजन्य उद्योग स्थापनका लागि सहयोग गर्नुका साथै ल्याण्डफिल्ड साइटको व्यवस्थापन गर्ने नीति पारित गरिएको छ । रोजगारी तथा मानव संसाधन विकास अन्तरगत गरिबी निवारण गर्दै स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न पहल गर्ने, श्रम बजारको माग अनुसार सीप विकास तथा क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्ने, समान कामका लागि समान ज्यालाको व्यवस्था गर्ने, गाउँपालिकामा सञ्चालन हुने हरेक विकासे योजनाका काममा स्थानीयलाई प्राथमिकता दिने महत्वपूर्ण नीति पारित गरिएको छ ।
खेलकुद क्षेत्रमा युवालाई आकर्षित गर्न गर्न ‘अध्यक्ष कप’ सञ्चालन गर्ने निर्णय गरिएको छ । खेलकुदप्रति युवाको रुचिलाई सम्बोधन गर्न पालिकास्तरीय तथा खुला प्रतियोगिताहरु सञ्चालन गर्ने, जनप्रतिनिधि, कर्मचारी र राजनीतिक दलबीच विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्ने लगायतका कार्यक्रमहरु नीति तथा कार्यक्रममा समेटिएका छन् ।