शनिवार, आषाढ १४ २०८२
नेपाल वाइड
खोटाङ, १४ असार । खोटाङको खोटेहाङ गाउँपालिकाले तत्कालीन द्वन्द्वकालमा राज्य तथा विद्रोही दुवै पक्षबाट मारिएका शहिदहरूलाई सम्झना गर्दै उनीहरूका परिवारलाई सम्मान गरेको छ । दशवर्षे जनयुद्धमा शहादत प्राप्त गर्ने खोटेहाङका ११ शहिद परिवारसहित द्वन्द्व पीडित घाइते अपाङ्ग तथा बेपत्ता परिवारलाई गाउँपालिकाले मायाको चिनो प्रदान गर्दै सम्मान गरेको हो ।
दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठान खोटाङको आयोजना तथा खोटेहाङ गाउँपालिकाको आर्थिक सहयोगमा भान्सामा प्रयोग गरिने विद्युतीय चुल्हो प्रदान गरिएको हो । कार्यक्रमले द्वन्द्वकालीन घटनाहरूको स्मरणका साथै शहिद परिवारहरूप्रति संम्मान व्यक्त गरेको प्रतिष्ठानले जनाएको छ । कार्यक्रममा बोल्नुहुदै पालिका प्रमुख उदिम बहादुर राईले शहिदहरू कुनै एकपक्षको मात्र नहुने भन्दै तत्कालीन समयमा शहिदहरूले आफ्नो जीवन उत्सर्ग गरे कै कारण आजको परिवर्तन संम्भव भएको बताए । शहिदहरूको बलिदानलाई राष्ट्रिय गौरवको विषय भन्दै शहिदका परिवारप्रति राज्यको दायित्व रहेको बताए ।
खोटेहाङ गाउँपालिकाको सभाहलमा भएको कार्यक्रममा बोल्दै पालिका उपाध्यक्ष रुपेश राईले द्वन्द्वकालमा गुमाएका जीवनहरूप्रति दुःख व्यक्त गर्दै ती परिवारहरूप्रति समाजको सहयोग आवश्यक रहेको बताए । यस्तै, नेकपा एमालेका नेता तथा खोटेहाङ गाउँपालिका वडा नम्बर–७ का वडाध्यक्ष शिव फुयलले शहिदहरूको सम्मानका लागि गरिएको सानो प्रयास भएपनि यसको ठूलो महत्व रहेको बताए ।
जनयुद्धमा राज्यपक्षबाट मारिएका खोटेहाङका ९ जनामध्ये ७ परिवार र विद्रोही पक्षको एम्बुस तथा दोहोरो भिडन्तमा परि ज्यान गुमाएका ४ शहिद परिवारलाई विद्युतीय चुल्हो हस्तान्तरण गरिएको छ । यस्तै तत्कालीन समयका द्वन्द्व पीडित परिवार ६ जना, जनयुद्धका घाईते योद्धा दुई जना र बेपत्ता परिवार एक गरी जम्मा २० परिवारलाई विद्युतीय चुल्हो प्रदान गरिएको दिलकाजी ठुलकुमार स्मृति प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष सुरेश राईको अध्यक्षतामा आयोजित दुई चरणको कार्यक्रममा गत असार २ गते शहिद, द्वन्द्व पीडित, बेपत्ता, घाइते परिवारसँग सम्मिलन र शुक्रबार शहितपरिवारलाई सम्मान तथा विद्युतिय चुल्हो वितरण कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।