शनिवार, आषाढ १४ २०८२
नेपाल वाइड
खोटाङ, १४ असार । खोटाङ जिल्लाको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीमा मगर समुदायको आस्थाको प्रतीक खुर्पेटो (घोरप्याक) को प्रतिमा स्थापना गरिएको छ । स्थानीय वडा सरकारको बजेटबाट निर्मित उक्त प्रतिमा नेपालमा सरकारी लगानीमा बनाइएको पहिलो खुर्पेटोको प्रतिमा रहेको दाबी गरिएको छ ।
नेपाल मगर संघका अनुसार यसअघि व्यक्तिगत हिसाबले रिसोर्टहरूमा प्रतिमा स्थापना गरिएको भएपनि सरकारको लगानीमा मगर समुदायलाई सम्बोधन गरेर बनाइएको पहिलो खुर्पेटो प्रतिमा खोटाङमै भएको जनाइएको छ ।
यसअघि नेपाल मगर संघका अध्यक्ष नविन रोक्का मगरको कार्यकालमा सार्वजनिक रूपमा खुर्पेटो प्रतिमाहरू बनाउने निर्णय भएको भएपनि कार्यान्वयनमा आएको थिएन । नेपाल मगर संघका उपाध्यक्ष जीवन रोक्का मगरले सरकारी बजेटबाट सार्वजनिक स्थलमा पहिलो पटक खुर्पेटो स्थापना भएको दाबी गरे । उनले भने, “मलाई यसअघि सम्म सरकारको लगानीमा सार्वजनिक स्थलमा रहनेगरी खुर्पेटोको प्रतिमा स्थापना भएको जानकारी छैन । खोटाङमा शनिबार उद्घाटन भएको प्रतिमा नै पहिलो हो ।”
मगर समुदायको आस्थाको प्रतीक खुर्पेटो (घोरप्याक) को खोटेहाङ गाउँपालिकाका अध्यक्ष उदिम बहादुर राईले शनिबार उद्घाटन गर्नुभएको छ । इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापना गरिएको खुर्पेटो प्रतिमाको उद्धघाटन गर्नुहुदै अध्यक्ष राईले जातीय सांस्कृतिक समभाव र सहिष्णुताको विकास गर्न मद्दत पुर्याउने बताए ।
कार्यक्रमका विशेष अतिथि रहनु भएको पालिका उपाध्याक्ष रुपेश राईले खोटेहाङ गाउँपालिका लाई साझा फूलबारीका रुपमा विकास गर्न वडाले शुरु गरेको प्रयासलाई सँधै साथ रहेको बताए । उक्त प्रतिमा वडा कार्यालय ईन्द्रेणीपोखरीको पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको वडाध्यक्ष वसन्त राईले जानकारी दिए । आफ्नो वडामा जातिय बाहुल्यताको हिसाबमा मगर समुदाय केही कम भएपनि समुदायको पहिचान स्थापित गर्न खुर्पेटोको प्रतिमा स्थापना गरिएको वडाध्यक्ष राईको भनाई छ ।
इन्द्रेणी पोखरीलाई बुहसांस्कृतिक पार्कका रुपमा विकास गर्नका लागि किरात समुदायको वाबु (चिण्डो), हिन्दु धर्मावलम्बीहरुको लागि मन्दिर, बालबालिकाहरुका लागि विभिन्न किसिमको खेलौना जस्ता कुराहरु निर्माण गरिएको छ । इन्द्रेणी पोखरीलाई पर्यटकीय हबको विकास गर्नकालागि भौतिक संरचनाहरु निर्माण भईरहेको वडाध्यक्ष राईले जानकारी दिए ।
उक्त प्रतिमा स्थापनाले मगर समुदायको पहिचान र सांस्कृतिक मूल्यमान्यताहरूलाई संरक्षण गर्नुका साथै अन्य जातजातिहरूसँगको सामाजिक एकताको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । खुर्पेटो मगर समुदायको धार्मिक र सांस्कृतिक प्रतीक भएकाले समुदायिक गर्व र पहिचानलाई बलियो बनाउने विश्वास गरिएको छ । इन्द्रेणीपोखरीको बहुसांस्कृतिक पार्कमा स्थापित उक्त प्रतिमाले स्थानीय पर्यटनको विकासमा पनि योगदान पुर्याउने अपेक्षा गरिएको छ ।