मंगलवार, आषाढ १७ २०८२
नेपाल वाइड
खोटाङ, १७ असार । खोटाङ जिल्लाको हलेसी तुवाचुङ नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा गरिएको छ । हलेसी तुवाचुङसँगै खोटाङ जिल्लाका सबै १० स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगर तथा पालिका घोषणा पुरा भएको छ । सोमबार आयोजित विशेष समारोहमा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरप्रमुख विमला राईलाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपनाको प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
हलेसी तुवाचुङ नगरपालिकाका जन्मदेखि १५ महिनासम्मका ३३७ बालबालिकाले नियमित खोप र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार १८४ बालबालिकाले पूर्ण खोप लगाएको पुष्टि भएपछि यो घोषणा गरिएको हो ।
पूर्ण खोप सुनिश्चितता घोषणासभामा जिल्ला समन्वय समितिका उपप्रमुख सुरेशकुमार तामाङ, नगरपालिकाका उपप्रमुख रमेशकुमार राउत, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, रणभीम गणका गणपति प्रमुख सेनानी केदारप्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक बिष्ट, सशस्त्र बल हलेसी गुल्मका गणपति सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापामगर, प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त गिरी, स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवनप्रसाद चौलागाईलगायत उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित जनप्रतिनिधि, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र स्वास्थ्यकर्मीहरूले दीगोपनाका लागि तयार पारिएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका छन् । शैक्षिक सत्र २०८१ को एसईई र नगर स्तरीय वार्षिक परीक्षा कक्षा ४ देखि ९ मा उत्कृष्ट हासिल गर्ने विद्यालय तथा विद्यार्थीलाई पुरस्कार वितरणसँगै नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो ।
नगरप्रमुख विमला राईको अध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नगरपालिकाभित्र सञ्चालित सामुदायिक विद्यालयहरूको विभिन्न चरणका परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यालय र विद्यार्थीहरूलाई सम्मान गरिएकोे नगरपालिकाकाले जनाएको छ ।
खोटाङ जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता हासिल गरेसँगै असार २२ गते सम्पूर्ण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राईको प्रमुख आतिथ्यमा यो ऐतिहासिक घोषणा गरिने भएको छ ।
आगामी जिल्ला घोषणासभाको अवसरमा जिल्लाका दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका र विभिन्न संघ संस्थाहरूलाई सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा जन्मदेखि १५ महिनासम्मका दुई हजार ५५७ बालबालिकाले नियमित खोप र १६ देखि ५९ महिनासम्मका सात हजार ५८२ बालबालिकाले पूर्ण खोप लगाएको पुष्टि भएको छ ।
नेपाल सरकारले जन्मदेखि पाँच वर्षसम्मका बालबालिकाहरूलाई बिसिजी, दादुरा–रुबेला, पोलियो, जापानिज इन्सेफलाइटिसलगायत १४ वटा रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । “स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्णखोप निश्चितता हाम्रो प्रतिबद्धता“ भन्ने नाराका साथ सरकारले खोप कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयन गर्दै आएको छ ।