सोमवार, आषाढ २३ २०८२
नेपाल वाइड
खोटाङ, २३ असार । जिल्ला अस्पताल खोटाङमा स्थापनाको ३३ वर्षपछि ५० शैयाको सेवा शुभारम्भ गरिएको छ । विसं २०४९ वैशाख १ गते स्थापना भएको यस अस्पतालमा अहिलेसम्म मात्र १५ शैयाको सेवा सञ्चालनमा थियो । कोशी प्रदेश सरकारका स्वास्थ्य एवम् भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले आइतबार औपचारिक रूपमा ५० शैयाको सेवा शुभारम्भ गरेका हुन् ।
कोशी प्रदेश सरकारले गत जेठ १२ गते जिल्ला अस्पताल खोटाङलाई ५० शैयामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार अस्पताल भवन निर्माणको काम बाँकी रहेपनि अन्य सेवा विस्तारका लागि ५० शैयाको अस्पताल उद्घाटन गरिएको मन्त्री राईले स्पष्ट पारेका छन् । सेवा शुभारम्भ गर्दै मन्त्री राईले भने “पन्ध्र शैयामा सञ्चालन हुँदै आएको अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्न मन्त्रालयले प्रयाप्त बजेट उपलब्ध गराएको छ । ५० शैयाको सेवा शुभारम्भ नभएसम्म बजेट खर्च गर्ने बाटो खुल्दैन, ।” मन्त्री राईले आगामी भदौसम्ममा अस्पतालमा विशेषज्ञ डाक्टरसहितको सबै सेवा उपलब्ध गराइने बताए ।
“अब बिगतमा जस्तो सामान्य बिरामीको उपचारकै लागि जिल्लावासीले हेलिकोप्टर चार्टर गर्न सिरानीमा पैसा राखेर बस्नु पर्दैन ।” स्वास्थ्यमन्त्री राईले खोटाङमा स्वास्थ्य क्षेत्रका लागि १६ करोड बजेट विनियोजन गरिएको जानकारी दिएका छन् । यस बजेटबाट औषधि प्रशोधन केन्द्र, उपकरण तथा औषधि खरिदलगायतका काममा खर्च गरिनेछ । “निर्माणाधीन अस्पताल भवन सम्पन्न नभएपनि सेवा सुविधा विस्तार गर्नका लागि ५० शैयाको सेवा शुभारम्भ गरेका छौँ । भवन निर्माणको काम पनि अब चाँडै सम्पन्न हुन्छ । त्यसपछि सबै स्वास्थ्य सेवा उपलब्ध गराउँछौँ ।” मन्त्री राईले भनेका छन् ।
५० शैयाको सेवा शुभारम्भ गरिएसँगै सबै प्रकारका बिरामीहरूको उपचार सेवा जिल्लामै उपलब्ध गराउने गरी स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको मन्त्री राईले बताएका छन् । मन्त्रालयबाट विशेषज्ञ चिकित्सकसहित ५९ जना स्वास्थ्यकर्मीको दरबन्दी कायम गरिएको छ । मन्त्री राईले भने “पहिलो चरणमा यहीँका स्वास्थ्यकर्मी परिचालन गरेर भिडियो एक्स–रे सेवाबाट ५० शय्याको अस्पतालको सेवा शुभारम्भ गरिएको छ । आगामी दिनमा थप सेवा÷सुविधासमेत विस्तार गर्दै पूर्ण क्षमतामा सञ्चालन लगिनेछ ।” अस्पताल स्थापना भएको तीन दशकपछि ५० शैया स्तरोन्नति गरिएको अस्पताल उद्घाटन गरिए पनि अहिलेसम्म भवन निर्माणको काम सम्पन्न नहुँदा सेवा प्रभावित भएको छ ।
निर्माणाधीन अस्पताल भवनको भौतिक प्रगति ७० प्रतिशत मात्र सम्पन्न भएको जनाइएको छ । अस्पताल भवन निर्माणको ठेक्का २२ करोड ९० लाख ४७ हजार ९२ लागतमा श्यामसुन्दर–रामसागर–नेपाल फूलबारी जेभीले लिएको छ । ठेकेदार कम्पनीले ३० महिनाभित्र सक्नेगरी विसं २०७८ असार २४ गते सघन सहरी तथा भवन निर्माण आयोजना ओखलढुङ्गासँग सम्झौता गरेको थियो ।
ठेकेदारसँग सम्झौता गरिएअनुसार विसं २०८० पुस २४ गते भवन निर्माणको म्याद नाघेपछि पुनः थप गरिएको म्याद आगामी मङ्सिरसम्म रहेको छ । भवन निर्माणको काम नसकिएपछि जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयले निर्माण सम्बद्ध ठेकेदार कम्पनीहरूलाई ताकेता गरिरहेका छन् ।