Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना

    दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना


    • बिहिवार, श्रावण १ २०८२

    • नेपाल वाइड


    दिक्तेलमा पूर्वाधार विकास कार्यालय स्थापना
    दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालयको उद्धघाटन गर्नुहुदै कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राई र राज्यमन्त्री भूमिप्रसाद राजवंशी ।

    खोटाङ, १ साउन । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री भूपेन्द्र राईले बिहीबार उक्त कार्यालयको औपचारिक उद्घाटन गर्नुभएको छ ।

    पुर्वाधार विकास कार्यालय स्थापनाले जिल्लामा संञ्चालन हुने भौतिक पुर्वाधार विकास कार्यालय अन्तर्गतका योजना कार्यान्वयनमा दीर्घकालीन सहजता समाधान प्रदान गर्नेछ । कोशी प्रदेश सरकार, मन्त्री परिषद्को कार्यालयमा गत जेठ २० गते बसेको मन्त्री परिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार खोटाङको दिक्तेल बजारमा उक्त कार्यालय स्थापना गरिएको हो ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएको छ । पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फायल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायतका जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ ।

    यसले स्थानीयवासीको समय, श्रम र आर्थिक बचत गर्ने साथै विकास योजनाहरूको छिटो कार्यान्वयनमा सहयोग पुर्याउनेछ । भाडाको घरमा स्थापना गरिएको कार्यालयले तत्काल सेवा प्रदान गर्न थालेको छ ।

    कार्यालय स्थापना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भौतिक पूर्वाधार एवम् स्वास्थ्यमन्त्री राईले विकास निर्माणका कामलाई छिटो र गुणस्तरीय बनाउन कोशी प्रदेशमा पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरिएको बताए ।

    मन्त्री राईले भने, “पूर्वाधार विकास कार्यालय नहुँदा जिल्लामा परेका योजनाका फायल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगर लगायतका जिल्ला धाउनुपर्ने बाध्यता थियो । अब १४ वटै जिल्लामा योजना सम्झौतादेखि फरफारकसम्मका सबै काम हुन्छ ।” मन्त्री राईले जिल्ला–जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै निर्माण व्यवसायीलाई सहज हुनुका साथै विकास योजनाका काम छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको बताए ।

    दिक्तेल–खानीडाँडा सडकखण्डको हाटडाँडामा स्थापना गरिएको कार्यालय उद्घाटनका लागि भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्यमन्त्री राईसँगै राज्यमन्त्री भूमिप्रसाद राजवङ्शी, मन्त्रालयका सचिव अशोककुमार साह लगायतका टोली खोटाङ आएका थिए ।

    उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

    भौतिक पुर्वाधारको कार्यालय स्थापनाले खोटाङका जनताको विकास योजनाहरूमा पहुँच सहज बनाउने र स्थानीय विकासमा नयाँ गति प्रदान गर्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार