बुधवार, श्रावण ७ २०८२
नेपाल वाइड
खोटाङ, ७ साउन । खोटाङमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) खोटाङले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ । एमाले पार्टी कार्यालय अगाडि स्थापना गरिएको शालिकमा माल्यार्पणसहित स्मृति सभाको आयोजना गरी नेपाली कम्युनिस्ट आन्दोलनका महासचिव पुष्पलाल श्रेष्ठप्रति सम्मान तथा स्मरण गरिएको हो । पुष्पलाल श्रेष्ठ नेपाली कम्युनिस्ट आन्दोलनका धरोहर व्यक्तित्वका रुपमा मानिन्छ ।
वि.सं. १९८१ असारमा रामेछापको भङ्गेरीमा जन्मेका पुष्पलाल वैचारिक रूपमा अत्यन्त सशक्त र आम नेपालीका लागि प्रेरणादायी नेताका रूपमा परिचित छन् । पुष्पालले निरजन गोविन्द वैद्य, नारायण विलास जोशी, नर बहादुर कर्माचार्य, मोती देवी शाक्यसँग मिलेर वि.सं. २००६ सालमा भारतको कोलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापनासंगै नेपालमा वैज्ञानिक समाजवादी चिन्तनको थालनी हुनसाथै राजनीतिक परिवर्तनको आधार तयार पारेको मानिन्छ । एमाले खोटाङका उपाध्यक्ष कुमार आचार्यले संचालन गर्नुभएको स्मृति सभामा पार्टीका जिल्ला अध्यक्ष देवविक्रम राई, पूर्व अध्यक्ष राम प्रसाद दंगाल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका पूर्व मेयर दिपनारायण रिजाल, बौद्धिक संगठनका जिल्ला अध्यक्ष केशर कुमार राईलगायत वक्ताहरूले पुष्पलालको संघर्षपूर्ण राजनीतिक जीवन, पार्टी र जनताप्रतिको अटुट निष्ठाप्रति सम्मान व्यक्त गरेका छन् ।
स्मृति सभामा वक्ताहरूले पुष्पलाल श्रेष्ठको व्यक्तित्वका विभिन्न पक्षहरूमाथि चर्चा गरेका थिए । वक्ताहरुले सैद्धान्तिक, वैचारिक स्पष्टता भएका पुष्पलाल एक दूरदर्शी नेता रहेकाले नेपालको सामाजिक, आर्थिक र राजनीतिक रूपान्तरणका महत्वपुर्ण योगदान रहेको स्मरण गरेका थिए । महासचिव एवम् लोकतान्त्रिक आन्दोलनका धरोहर पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस बुधबार देश तथा विदेशमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ ।