Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेलामा पहिरोले बगाएको सडक आकस्मिक सेवामार्फत खुलाइयो

    साकेलामा पहिरोले बगाएको सडक आकस्मिक सेवामार्फत खुलाइयो


    • शुक्रवार, श्रावण ९ २०८२

    • नेपाल वाइड


    साकेलामा पहिरोले बगाएको सडक आकस्मिक सेवामार्फत खुलाइयो
    अवरुद्ध बनेको सडक पालिका अध्यक्ष रविप्रकाश राईको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा मर्मत गरिदै ।

    खोटाङ, ९ साउन । खोटाङको साकेला गाउँपालिकामा वर्षाको कारण सडकमा लगाइएको ग्याविन जाली पहिरोले बगाएपछि अवरुद्ध बनेको सडक जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा मर्मत गरि पुनः सुचारु गरिएको छ । गाउँपालिकाको आकस्मिक पूर्वाधार सेवा कार्यक्रम अन्तर्गत अवरुद्ध बनेको सडक सुचारु गरिएको हो ।

    साकेला गाउँपालिका अन्तर्गत बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडकखण्ड अन्तर्गत वडा नम्बर-१ को रुपुवा खोला नजिक लगाइएको ग्याविन जाली गत मंगलबार राती परेको अविरल वर्षाको कारण पहिरोसँगै बगेको थियो । पहिरोका कारण ग्याविन जाली बग्दा करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

    पहिरोका कारण अवरुद्ध बनेको सडक बिहीबार गाउँपालिका अध्यक्ष रवि प्रकाश राईको नेतृत्वमा गएको टोलीले साँझसम्म मर्मत गरि पुनः सञ्चालनमा ल्याएको हो । गाउँपालिकाको आकस्मिक पूर्वाधार सेवा अन्तर्गत अवरुद्ध बनेको सडक खुलाउनका लागि जनश्रमदान मार्फत अस्थायी पर्खाल लगाएर यातायात बारपार गर्न सक्ने बनाइएको गाउँपालिका प्रमुख राईले बताए ।

    ddddddd.jpg

    अवरुद्ध सडक सुचारु गर्नका लागि गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा स्थानीय वडाका वडाध्यक्ष, स्थानीय सरोकारवाला नागरिक, नेपाल प्रहरी र कर्मचारीको सहभागिता रहेको थियो । पालिकामा उपलब्ध ब्याकहो लोडर र ट्याक्टरको समेत प्रयोग गरिएको थियो ।

    साकेला गाउँपालिकाको गौरवको सडक मानिएको उक्त सडकमा स्थानीय, प्रदेश तथा संघीय सरकारको करोडौं रुपैयाँ बजेट लगानी भएको छ । उक्त सडकले स्थानीय जनताको आर्थिक गतिविधि र सामाजिक सम्पर्कमा महत्वपूर्ण भूमिका खेलेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा संघीय समपूरक योजना अन्तर्गत केही बजेट प्राप्त भएर निर्माणको काम भएको थियो ।

    चालु आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय समपूरक योजना अन्तर्गत बजेट विनियोजन भएर काम प्रारम्भ हुने चरणमा रहेको छ । संघीय समपूरक योजना अन्तर्गत यस सडक निर्माणका लागि स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुनेछ ।

    बहुबर्षीय योजना अन्तर्गत निर्माण भइरहेको यस सडकमा आगामी आर्थिक वर्षको समेत गरी कुल ६ करोड २३ लाख बराबरको काम यसै वर्षदेखि प्रारम्भ हुने गाउँपालिका अध्यक्ष राईले जानकारी दिए । हाल ग्राभेल सडकको रूपमा रहेको करिब १७ किलोमिटर लामो उक्त सडक सम्पन्न हुनका लागि एक अर्ब १४ करोड रुपैयाँ लागत बराबरको विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार भएको छ ।

     

    सम्बन्धित समाचार