Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    वाईसिएल खोटाङको नेतृत्वमा सडक सरसफाई तथा वृक्षारोपण

    वाईसिएल खोटाङको नेतृत्वमा सडक सरसफाई तथा वृक्षारोपण


    • शुक्रवार, श्रावण ९ २०८२

    • नेपाल वाइड


    वाईसिएल खोटाङको नेतृत्वमा सडक सरसफाई तथा वृक्षारोपण
    सडक मर्मत तथा वृक्षरोपनमा जुटेका वाईसिएल ।

    खोटाङ, ९ साउन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट युवा सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसिएल) ले सडक सरसफाई तथा बृक्षरोपन गरेको छ । वाईसिएल नेपाल खोटाङको नेतृत्वमा हलेसीको होलेसुङ जनकराज राई मार्गको अन्तिम खण्ड वानम्लादेखि छापडाँडासम्मको करिब १३ किलोमिटर सडकको खाल्डाखुल्डी पुर्ने कार्यसँगै सडकका दुवै छेउछाउको झाडी सरसफाई गरिएको वाईसिएल जिल्ला कमिटी खोटाङका सचिव सुजेन राईले जानकारी दिएका छन् ।

    सडक सरसफाई तथा मर्मत कार्यले स्थानीय बासिन्दाहरूको यातायात सुविधामा सहजता थपेको छ । हलेसी तुवाचुङ नगरकमिटीको आयोजनामा सञ्चालित श्रम अभियान अन्तर्गत हलेसी तुवाचुङ नगरपालिका वडानम्बर–५ दुर्छिमस्थित गणेशटारमा रहेको खेलमैदान आसपासमा व्यापक वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

    खेलमैदानलाई पहिरोको जोखिमबाट सुरक्षित राख्ने उद्देश्यले करिब दुई सयको हाराहारीमा विभिन्न जातका विरुवा रोपिएको सचिव राईले जानकारी दिए । रोपिएका विरुवाहरूमा बाँस, निलकाँडा र सेवलीलगायतका प्रजातिहरू समावेश छन् । वृक्षरोपणका लागि विरुवाहरूको छनोट गर्दा स्थानीय वातावरणमा सजिलैसँग बढ्न सक्ने र माटोको कटान रोक्ने प्रजातिका विरुवा रोपिएको जनाईएको छ ।

    dkkd.jpg

    हलेसीदुर्छिमस्थित गणेशटारमा रहेको खेलमैदान आसपासमा वृक्षारोपण गर्दै वाईसियल ।

    युवा पुस्तालाई श्रमसँग जोडेर उत्पादनलाई जोड दिँदै स्वरोजगार सिर्जनाको उद्देश्यसहित शुरुवात गरिएको अभियानले युवाहरूमा श्रमसंस्कृतिको विकास गर्ने लक्ष्य राखेको छ । वाईसिएल नेपाल खोटाङका इन्चार्ज किसन राईले संञ्चालित अभियानले युवाहरूलाई श्रमको महत्व बुझाउने र उत्पादनशील कार्यमा संलग्न गराउने उद्देश्य राखेको बताए ।

    श्रमदान अभियानमा मातृ पार्टी माओवादी केन्द्रका नेता तथा कार्यकर्ता, वाईसिएल नेपालका केन्द्र, प्रदेश तथा जिल्ला तहका नेताहरू, हलेसी तुवाचुङ नगरकमिटिका पदाधिकारीलगायत स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको वाईसिएल नगर कमिटी हलेसीले जनाएको छ । वाईसिएल नेपाल केन्द्रीय कार्यसमितिको निर्णय अनुसार देशका ७७ वटै जिल्लामा हाल श्रमदान अभियान जारी रहेको छ ।

    खोटाङमा सञ्चालित अभियानलाई राष्ट्रिय महत्वका कार्यक्रमसँग जोड्दै यस अघि वाईसिएल नेपाल खोटाङले श्रमदान अभियान अन्तर्गत दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा वृक्षारोपण, फूलका बिरुवा वितरण तथा सरसफाई अभियान सञ्चालन गरेको थियो । राष्ट्रव्यापी अभियानले प्रत्येक जिल्लामा स्थानीय आवश्यकता अनुसार कार्यक्रम सञ्चालन गर्ने पद्धतिले श्रमदान कार्यको थप प्रभावकारिता बढाएको वाईसिएल नेपाल खोटाङका ईन्चार्ज राईको भनाई छ ।

    दुई महिनासम्म सञ्चालन हुने अभियानका क्रममा अब बुइपामा सामुदायिक फापर तथा बेसार खेतीलगायतका कार्यक्रम तय गरिएको वाईसिएल खोटाङका अध्यक्ष भूपेन्द्र किरातीले जानकारी दिए । वाईसिएल नेपालको गत असार १७ र १८ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले साउन र भदौमा दुई महिने श्रम अभियान चलाउने निर्णय गरेको थियो । उत्पादनमा कृषि, उद्योग र व्यापारका क्षेत्रमा ठोस योजना बनाएर अभियानलाई निरन्तरता दिईने वाईसिएल नेपाल खोटाङले जनाएको छ ।

    सम्बन्धित समाचार