Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामाग्री वितरण

    साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामाग्री वितरण


    • शुक्रवार, श्रावण १६ २०८२

    • नेपाल वाइड


    साकेला गाउँपालिकाद्वारा अपाङ्गता भएका नागरिकलाई सहायक सामाग्री वितरण
    अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायक समाग्रीहरू प्रदान गर्नुहुदै गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई ।

    खोटाङ, १६ साउन । खोटाङको साकेला गाउँपालिकाले अपाङ्गता भएका नागरिकहरूको दैनिक जीवनमा सहजता प्रदान गर्ने उद्देश्यले सहायक सामाग्री वितरण गरेको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत पालिकाले बिहीबार वडा नम्बर–२ रतन्छाका दश जना अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायक समाग्रीहरू प्रदान गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राई र उपाध्यक्ष बिर्सिका राईको उपस्थितिमा आयोजित कार्यक्रममा अपाङ्गता भएका नागरिकहरूलाई हिँड्डुल गर्न सहायक हुने छडी लाठ्ठी, श्रवणयन्त्र र कुईनो वैशाखीलगायतका समाग्रीहरू हस्तान्तरण गरिएको हो । सबै प्रकारका नागरिकहरूको सहजताका लागि विभिन्न गतिविधि सञ्चालन गर्दै आएको पालिकाले वडा कार्यालयमा विशेष कार्यक्रमको आयोजना गरेर उक्त सहायक समाग्रीहरू वितरण गरेको अपाङ्गता पुनस्थापना कार्यक्रमका पालिका संयोजक रुपा श्रेष्ठले जानकारी दिइन् ।

    कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष राईले अपाङ्गता भएका नागरिकहरूको आत्मनिर्भरता बढाउने दिशामा थप सहयोग गर्ने बताउनुभएको छ । अपाङ्गता भएका नागरिकहरूले गठन गरेको मिलीजुली समूहमा आत्मनिर्भरताका लागि प्रति महिना प्रतिव्यक्ति ५० रुपैंया सदस्यता शुल्क संकलन गर्दै आएकोमा अध्यक्ष राईले आफूले पाएको सेवा सुविधाबाट १५ हजार रुपैंया थप गरेर आत्मनिर्भरताको लागि कोषमा वृद्धि गर्ने घोषणा गर्नुभएको छ ।

    IMG-20250731-WA0032.jpg

    अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत अपाङ्गता भएका नागरिकहरूलाई आवश्यक सहायक समाग्रीहरू प्रदान गर्नुहुदै गाउँपालिकाका उपाध्यक्ष बिर्सिका राई ।

    साकेला गाउँपालिकामा गत २०८० माघ १ गतेदेखि सामाजिक विकास मन्त्रालय कोशी प्रदेश, साकेला गाउँपालिका र करुणा फाउण्डेसनको त्रिपक्षीय लागत साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम सञ्चालन भइरहेको छ । उक्त कार्यक्रम २०८३ पौष मसान्तसम्म सञ्चालन हुनेछ ।

    अध्यक्ष राईले यस कार्यक्रमले गाउँपालिकाभित्र रहेका अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको बताउनुभयो । उहाँले नागरिकलाई परेको समस्याप्रति साकेला गाँउपालिका पूर्णरूपमा संवेदनशील रहेको र गाउँपालिकावासी नागरिकको समस्या समाधान गर्न स्थानीय सरकारले गर्ने सबै काममा कमी आउन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

    अध्यक्ष राईले गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्ति र तिनका परिवारका लागि थप कार्यक्रम विस्तार गर्दै लाने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ । अपाङ्गता रोकथाम तथा पुनस्थापना कार्यक्रम अन्तर्गत संकलन भएको विवरण अनुसार गाउँपालिकाभित्र ३२५ जना अपाङ्गता भएका व्यक्तिहरूको पहिचान भएको छ । कार्यक्रम संयोजक श्रेष्ठले अन्य वडाका अपाङ्गता भएका नागरिकहरूलाई पनि क्रमशः सहायक समाग्रीहरू वितरण गर्दै लगिने बताईन् ।

    IMG-20250731-WA0025.jpgIMG-20250731-WA0030.jpg

    सम्बन्धित समाचार