Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्थानीयको सक्रियतामा पहिरोले अवरुद्ध साकेला गाउँपालिकाको मुख्य सडक खुलाइयो

    स्थानीयको सक्रियतामा पहिरोले अवरुद्ध साकेला गाउँपालिकाको मुख्य सडक खुलाइयो


    • बिहिवार, श्रावण २२ २०८२

    • नेपाल वाइड


    स्थानीयको सक्रियतामा पहिरोले अवरुद्ध साकेला गाउँपालिकाको मुख्य सडक खुलाइयो
    अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको सडक जेसिवी लाएर ढुंगा पन्छाउदै ।

    खोटाङ, २२ साउन । अविरल वर्षाका कारण पहिरोले अवरुद्ध भएको खोटाङको साकेला गाउँपालिकाको मुख्य सडक स्थानीयवासीको सक्रिय सहयोगमा खुलाइएको छ । बाँझेच्यानडाँडा–रतन्छा–मानेभन्ज्याङ सडकखण्ड अन्तर्गत वडा नम्बर–१ बाँझे लगनेडाँडामा झरेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको हो । गत सोमबार राति ढुङ्गा सहितको पहिरो सडकमा झरेपछि सवारी साधन आवतजावत पूर्णरूपमा बन्द भएको थियो ।

    सडक अवरुद्धले स्थानीयवासीलाई सडक आवतजावतमा समस्या पारेपछि गाउँपालिकाको जेसिवी र स्थानीयको स्काभेटरको साथमा जनप्रतिनिधि र वडा नम्बर–१ का स्थानीय नागरिकहरूको सामूहिक प्रयासमा पहिरो पन्छाएर सडक खुलाइएको साकेला गाउँपालिकाका प्रमुख रवि प्रकाश राईले जानकारी दिए ।

    साकेला गाउँपालिकाको गौरवको आयोजनाको रूपमा मानिने उक्त सडक पुष्पलाल मध्यपहाडी लोकमार्गहुँदै सदरमुकाम दिक्तेल र कोशी प्रदेशका विभिन्न जिल्लामा पुग्नका लागि महत्वपूर्ण मार्ग हो । मध्यपहाडी लोकमार्गसँग जोडिएको उक्त सडक गाउँपालिकाको केन्द्रबाट १७ किलोमिटर लामो दूरीमा फैलिएको प्रमुख सडक हो ।

    निरन्तर स्तरोन्नति र निर्माण भइरहेको यस सडकलाई गाउँपालिकाले प्राथमिकता दिएर निर्माण गरिरहेको छ । पालिका प्रमुख राईका अनुसार गाउँपालिकाले उक्त सडक मात्र नभएर प्राकृतिक विपत्तिका कारण हुने क्षतिलाई न्यूनीकरण गरी नागरिकलाई सहजता दिलाउन आकस्मिक पूर्वाधार सेवा मार्फत विभिन्न स्थानका सडक तथा पूर्वाधार निर्माणको कामलाई निरन्तरता प्रदान गरिरहेको बताए ।

    यसअघि गत साउन १० गते पनि यसै सडक खण्डको रुपुवा खोलामा रहेको ग्याविन जाली पहिरोले बगाएको थियो । त्यस बेला पनि गाउँपालिका प्रमुख राईको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीय नागरिकको सक्रियतामा मर्मत गरी पुनः सुचारु गरिएको थियो ।

    सडकमा क्षेत्ति पुर्‍याउदा करीब ५० लाख रुपैयाँ बराबरको क्षति भएको थियो । पालिकाको गौरवको सडक मानिने उक्त सडकमा स्थानीय, प्रदेश तथा संघीय सरकारको करोडौं रुपैयाँ बजेट लगानी भएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा संघीय सम्पूरक योजना अन्तर्गत केही बजेट प्राप्त भई निर्माणको काम भएको थियो ।

    चालू आर्थिक वर्ष २०८२/०८३ को लागि संघीय सम्पूरक योजना अन्तर्गत बजेट विनियोजन भई काम प्रारम्भ हुने चरणमा रहेको छ । संघीय सम्पूरक योजना अन्तर्गत यस सडक निर्माणका लागि स्थानीय तहको २० प्रतिशत लागत साझेदारी हुनेछ ।

    बहुवर्षीय योजना अन्तर्गत निर्माण भइरहेको उक्त सडकमा आगामी आर्थिक वर्षको समेत गरी कुल ६ करोड २३ लाख बराबरको काम यसै वर्षदेखि प्रारम्भ हुने गाउँपालिका प्रमुख राईले जानकारी दिए । हाल ग्राभेल सडकको रूपमा रहेको करीब १७ किलोमिटर लामो सडक कालोपत्रे सहित सम्पन्न गर्नका लागि एक अर्ब १४ करोड रुपैयाँ लागत बराबरको विस्तृत परियोजना प्रतिवेदन तयार भएको छ ।

    sadak7.jpgsadak6.jpgsadak3.jpg

    सम्बन्धित समाचार