सोमवार, श्रावण २६ २०८२
नेपाल वाइड
खोटाङ, २६ साउन । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित मध्य–पहाडी लोकमार्ग अन्तर्गतको सडक खण्डमा पहिरो खस्दा सडक अबरुद्ध भएको छ । गएरातिदेखि परेको अबिरल वर्षाका कारण हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पुरानो चौकी नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको च्यास्मिटारका वडाध्यक्ष भुपालसिं राईले जानकारी दिए ।
सय मिटरमाथीबाट खसेको पहिरोले करिब १० मिटर सडक पुरिएको छ । यस्तै, पहिरोले दाम्ली डिकुवा जाने भित्री कच्ची सडक खण्ड समेत अवरुद्ध भएको वडाध्यक्ष राईले जानकारी दिए । भित्रि सडक समेत करिब २० मिटर पहिरोले पुर्ण रुपमा पुरिएको छ । सडक अवरुद्ध भएपछि त्यस क्षेत्रमा लामो तथा छोटो दुरीका सवारी साधान बाटैमा रोकिएका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राईले सडक विभाग र नगरपालिकाको समन्वयमा उपलब्ध गराइएको जेसीबीले अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको जानकारी दिइन् । प्रहरी, जनप्रतिनिधि र स्थानियबासीको सकृयतामा अबरुद्ध सडक खुलाउने प्रयास भईरहेको छ । अवरुद्ध सडक केही समयपछि नै सुचारु हुने प्रमुख राईले जानकारी दिईन् ।


