सोमवार, श्रावण २६ २०८२
नेपाल वाइड
खोटाङ, २६ साउन । अविरल वर्षाका कारण पहिरो खसेर बन्द भएको मध्यपहाडी लोकमार्गअन्तर्गत जयराम–हलेसी सडकखण्ड ११ घण्टाको निरन्तर प्रयासपछि सुचारु गरिएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारस्थित पुरानो प्रहरी चौकी नजिकै झरेको पहिरोले सडक पूर्णरूपमा अवरुद्ध बनाएको थियो ।
सोमबार बिहान करिब ८ बजे अन्दाजी १०० मिटर माथिबाट ठूला ढुङ्गा र बोटबिरुवासहितको पहिरो खसेको थियो । उक्त पहिरोले सडक पुरेर मध्यपहाडी लोकमार्गको महत्वपूर्ण जयराम–हलेसी सडकखण्ड दिनभर पूर्णरूपमा अवरुद्ध गरेको थियो ।
निरन्तर प्रयासपछि साँझ ७ बजेदेखि सडक पुनः सञ्चालनमा आएको छ । सडक खुलेपछि दिनभर रोकिएका सयौं सवारीसाधन र हजारौं यात्रुहरू आ–आफ्ना गन्तव्यतर्फ लागेका छन् ।
हलेसी तुवाचुङ नगरपालिकाकी नगरप्रमुख विमला राईले सडक सुचारु गर्न विभिन्न संयन्त्रको प्रयोग गरिएको जानकारी दिइन् । उनले भनिन्, “अवरुद्ध सडक खुलाउन सबै संयन्त्र प्रयोग गर्यौं । करिब ११ घण्टाको प्रयासपछि यातायात सञ्चालन हुने बनाइएको छ । जयराम–हलेसी सडकखण्डमा अब निर्वाधरूपमा यातायात सञ्चालन हुनेछ ।”
पहिरो पन्छाउने कार्यमा हलेसी तुवाचुङ नगरपालिका, मध्यपहाडी लोकमार्गको स्काभेटर, सुरक्षा निकाय र स्थानीयवासीले संयुक्तरुपमा सहयोग गरेका थिए । पहिरोका कारण सडक अवरुद्ध हुँदा धार्मिकस्थल हलेसीमा लागिरहेको बोलबम मेलामा आउने दर्शनार्थीहरू सबैभन्दा बढी मारमा परेका थिए । काठमाडौं र तराईबाट आउने सयौं यातायातका साधन र हजारौं यात्रुहरू बीचसडक मै दिनभर अलपत्र परेका थिए ।
व्यस्त रहने उक्त सडकखण्डमा नियमित रूपमा ठूलो संख्यामा यात्रुको ओहोरदोहोर हुने गर्छ । विशेषगरी बोलबम मेलाको समयमा यस मार्गको व्यापकरुपमा सवारी साधानको चाप बढ्ने गरेको छ ।