बुधवार, श्रावण २८ २०८२
नेपाल वाइड
खोटाङ, २९ साउन । नेवार समुदायको महान चाड लाखेजात्राको अवसर पारेर खोटाङको दिक्तेलबजारमा भव्य लाखेजात्रा प्रदर्शन गरिएको छ । बुधबार दिक्तेलबजार सामाजिक गुठी खोटाङको निमन्त्रणामा जिल्लाका विभिन्न दश ठाउँबाट आएका नेवार समुदायले दिक्तेल बजारमा संयुक्तरूपमा लाखेजात्रा प्रदर्शन गरेका हुन् ।
दिक्तेलबजारको रत्नपार्कबाट सुरु गरिएको लाखेजात्रा प्रदर्शनी कार्यक्रममा दिक्तेल, खाल्ले, सोल्मा, बुइपा, राजापानी, खार्मी, जालपा, निर्मलीडाँडा, दोवेला र अर्खौलेका लाखे टोलीले आ–आफ्नो ठाउँ विशेषको कला प्रदर्शन गरेका छन् । नेवार समुदायका युवायुवतीमात्र सहभागी हुने लाखेजात्रामा यस वर्ष जिल्लाका गैरनेवार समुदायका युवायुवतीसमेत स्वतःस्फूर्तरूपमा उल्लासका साथ सहभागी भएका थिए ।
गैरनेवार समुदायका युवायुवतीले समेत नेवारी परम्परागत पहिरन हाकुपाटसी तथा दौरासुरुवाल र भातगाउँले टोपी लगाएका थिए । गठेमङ्गलबाट विधिवत् रूपमा सुरु गरिएको लाखेजात्रा कृष्णजन्माष्टमीको भोलिपल्ट रथयात्रा परिक्रमा गराएर औपचारिक रूपमा समापन गर्ने चलन छ । यसैबीचमा गाईजात्राको दिन वर्षभरि दिवङ्गत भएका आफन्तलाई श्रद्धाञ्जलि, रोपाइँ जात्रा, हिले जात्रा तथा विभिन्न सांस्कृति प्रस्तुतिहरु प्रदर्शन गर्ने गरिएको आयोजक दिक्तेल बजार सामाजिक गुठीका कोषाध्यक्ष इन्द्र कसजूले जानकारी दिए ।
दिक्तेल बजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण भने, मुकुण्डोधारी लाखे नाच मानिएको छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति तथा परम्पराहरुको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्छन् । लाखेजात्राको अवसरमा लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने चलन रहेको नेवार समुदायले बताएका छन् ।
लाखेसँगै अघिपछि हुँदै नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन गराउने गर्दछ । लाखेजात्रालाई नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखेजात्राले सांस्कृतिक, धार्मिक महत्वसँगै नेवार र गैरनेवार समुदायबीच आपसी सद्भाव, भाइचारा तथा भातृत्व कायम गरेको दिक्तेलबजार सामाजिक गुठी खोटाङका अध्यक्ष विष्णुकुमार श्रेष्ठ स्याण्डे’ले बताए ।
लाखेजात्राको अवसरमा नेवार समुदायको प्रत्येक घरमा पितृ पूजाआजा गर्नुका साथै नेवारी परिवार बनाएर खाने चलन छ । अध्ययन, रोजगारी तथा विभिन्न पेशा÷व्यवसायका क्रममा घरदेखि टाढा बसोबास गर्दै आएका परिवारका सदस्यहरु पनि लाखेजात्राको अवसरमा आफ्नो घर आएर तथा एक ठाउँ भेला भएर रमाइलो गर्छन् ।
अन्य चाडभन्दा विशेष तरिकाले मनाइने लाखेजात्रा कृष्णाष्टमीको भोलिपल्ट रथयात्राले बजार परिक्रमा गरेर कृष्ण मन्दिर तथा नजिकको देवालयमा गएर विधिवत् रूपमा समापन गर्ने चलन रहिआएको जनाइएको छ । नेवार समुदायको लाखेजात्रा दिक्तेल, खाल्ले, सोल्मा, खार्मी, जालपा, बुइपा, राजापानी, दोर्पाचिउरीडाँडा, दोर्पादोवेला, हौँचुर, लामीडाँडा, ऐसेलुखर्क, राखाबाङ्देल, खोटाङबजार, चिसापानी, सिम्पानी, बराहपोखरी, फाक्टाङ, पञ्चमी बजार लगायत जिल्लाका २७ ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको छ ।