Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सरस्वती मावि मात्तिममा २४ लाख बराबरको आधुनिक पुस्तकालय स्थापना

    सरस्वती मावि मात्तिममा २४ लाख बराबरको आधुनिक पुस्तकालय स्थापना


    • बिहिवार, श्रावण २९ २०८२

    • नेपाल वाइड


    सरस्वती मावि मात्तिममा २४ लाख बराबरको आधुनिक पुस्तकालय स्थापना
    पुस्तकालय संचालनका लागि पाहार ट्रस्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रममा पालिका अध्यक्ष रविप्रकाश राई, ट्रस्ट नेपाल पोखराका अध्यक्ष बिजुली बहादुर गुरुङ, विव्यसका पदाधिकारी, विद्यालयका प्रअ, शिक्षकलगायत विद्यार्थीहरु ।

    खोटाङ, २९ साउन । खोटाङको साकेला गाउँपालिका वडानम्बर–५ स्थित सरस्वती माध्यमिक विद्यालय मात्तिममा व्यवस्थित पुस्तकालय स्थापना गरिएको छ । ब्रिटिश गोर्खा वेलफेयर ट्रस्टसँगको समन्वयमा विद्यालयमा पाहार ट्रस्ट नेपालले व्यवस्थित पुस्तकालय स्थापना गरिदिएको हो । विद्यालयमा पुस्तकालय स्थापनाका लागि मंगलबार पाहार ट्रस्ट नेपाल पोखराका अध्यक्ष बिजुली बहादुर गुरुङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश राईबीच सम्झौता भएको छ ।

    पुस्तकालय संचालनका लागि पाहार ट्रस्ट नेपालद्वारा आयोजना गरिएको अनुशिक्षण कार्यक्रमको अवसरमा उक्त सम्झौता गरिएको हो । गत २०८१ माघदेखि सुरुवात गरिएको पुस्तकालयको सम्पूर्ण काम आगामी २०८३ साल पौष मसान्तसम्म सम्पन्न गर्ने गरी सम्झौता भएको उक्त विद्यालयकी प्रधानाध्यापक सितल राईले जानकारी दिएकी छिन् ।

    पुस्तकालयलाई आवश्यक पर्ने फर्निचर, भौतिक संरचना, पुस्तक लगायतको काम पाहार ट्रस्ट नेपालको तर्फबाट हुनेछ । पुस्तकालय स्थापना गर्नका लागि पाहार ट्रस्ट नेपालले २४ लाख ७ हजार ९ सय रुपैयाँ सहयोग गर्ने सम्झौतामा उल्लेख छ । अनुशिक्षण कार्यक्रम साकेला गाउँपालिकाका प्रमुख रबि प्रकाश राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

    उक्त अवसरमा अध्यक्ष राईले सरस्वती माध्यमिक विद्यालयमा भइरहेको दातृ निकायको सहयोग सराहनीय भएको प्रशंसा गरे । हालै मात्र गोर्खा वेलफेयर ट्रस्टद्वारा व्यवस्थित र आकर्षक १२ कोठे सुन्दर भवनहरू निर्माण भएको अवस्थामा पुनः पुस्तकालय सहयोग पाउनु गौरवको विषय भएको उल्लेख गर्दै यस कार्यमा सहयोग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे ।

    विद्यालयमा स्थापना गरिएको व्यवस्थित पुस्तकालयले ईसीडीदेखि कक्षा ३ सम्मका नानीबाबुलाई कक्षागत पठनकलाको विकास गरि माथिल्लो १२ कक्षासम्मका विद्यार्थीहरूमा पठन संस्कृतिको विकास गर्दै बाह्य अतिरिक्त ज्ञान बढाउन सहयोग पुर्याउने अपेक्षा राखिएको छ । यसले विद्यार्थी, शिक्षक र समुदायका नागरिकहरूको फुर्सदको समयलाई सदुपयोग गर्न र सूचनाको सेवा प्रवाह गरि विद्यालयको शैक्षिक सुधार गर्न ठूलो सहयोग पुर्याउने अपेक्षा राखिएको अध्यक्ष राईले बताए ।

    कार्यक्रममा पाहार ट्रस्ट नेपालका अध्यक्ष गुरुङसहित पुस्तकालय कार्यक्रमका म्यानेजर बलकाँशी गुरुङ, सुपरभाईजर बिमल नेपाली, मोभिलाईजर लक्ष्मी गुरुङ लगायतको उपस्थिति रहेको थियो । यसरी स्थापना गरिएको पुस्तकालयमा हाल बालबालिका र विद्यार्थीका लागि विषयवस्तुसँग सम्बन्धी पुस्तकहरू उपलब्ध रहेको छ भने सम्झौता अवधिभर बाह्य ज्ञानका पुस्तकहरू समेत समावेश गरिने जनाइएको छ । उक्त पुस्तकालयलाई समयसापेक्ष स्तरवृद्धि गर्दै लगिने प्रमुख राईको भनाइ छ ।

    यसैबीच, सोही कार्यक्रमको अवसरमा पुस्तकालय संचालन र व्यवस्थापनका लागि समिति गठन गरिएको छ । विद्यालयकी प्रधानाध्यापक सितल राईको अध्यक्षतामा सरीता राई, रमेश कुमार ढकाल, विपिन दाहाल, निश्चल ढकाल र रोमिया राई सदस्य रहेको समिति गठन गरिएको हो ।

    समितिमा आबद्ध सदस्यसहितका पदाधिकारीलाई पुस्तकालय व्यवस्थापन र संचालन सम्बन्धी तीन दिने अभिमुखिकरण कार्यक्रम आगामी भदौ ३ गतेदेखि ७ गतेसम्म हुने जनाइएको छ । यो पुस्तकालयले स्थानीय समुदायको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने र ज्ञान प्राप्तिमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार