Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न सेवाग्राहीलाई सास्ती

    खोटाङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न सेवाग्राहीलाई सास्ती


    • मंगलवार, भाद्र १० २०८२

    • नेपाल वाइड


    खोटाङमा राष्ट्रिय परिचयपत्रको फारम भर्न सेवाग्राहीलाई सास्ती
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाबाट राष्ट्रिय परिचयपत्रको फारम भर्न आएका दुईजना सेवाग्राहीलाई अटोचालकले जिल्ला प्रशासन कार्यालयसम्म डोर्‍याएर पुर्‍याउदै । ।

    खोटाङ, १० भदौ । रातको करिब नौ बजिसकेको थियो । जिल्ला प्रशासन कार्यालय खोटाङका राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर फणिन्द्र राई ८६ वर्षिय हैकम राईको आँखाको रेटिनाको फोटो लिन प्रयासरत थिए । तर कम्प्युटरको सिस्टमले राईको आँखाको फोटो लिन मानिरहेको थिएन । दर्ता अपरेटर राई अलि आवेगमा आएका वृद्धलाई सम्झाउने र बुझाउने गर्दै फोटो खिच्न व्यस्त थिए ।

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेका वृद्ध हैकम राई राष्ट्रिय परिचयपत्रको फारम भर्न सोमबार विहानै घरबाट जिल्ला सदरमुकाम आएका थिए । तर चाँडै आएकाहरूले पाँच बजेसम्मका लागि टोकन लिएर लाइनमा बसिसकेका थिए । टोकन लिन नपाएका उनी टोकन नपाउनेहरूको लाइनमा उभिए । उहाँको पालो भने करिब राती नौ बजे मात्र आएको थियो ।

    दिँउसो जिल्ला प्रशासन कार्यालयको भुइँमा म्याटेस बिछ्याएर वृद्धवृद्धाहरू फारम भर्ने लाइनमा बसिरहेका देखिन्थे । हाल जिल्ला प्रशासन कार्यालय खोटाङमा राष्ट्रिय परिचयपत्र बनाउने सेवाग्राहीलाई दश बजेदेखि लाइनमा राखेर टोकन सिस्टममार्फत फारम भराउने व्यवस्था गरिएको छ ।

    तर एउटै स्टेशन अनि एकजना मात्र जनशक्ति हुँदा पालैपालो फारम भर्ने प्रणालीले पनि समस्याको समाधान गर्न सकेको छैन । सामाजिक सुरक्षा भत्ता लिने वृद्धावृद्धालाई गाँउबाट जिल्ला प्रशासनसम्म आइपुग्नै समस्या छ भने आइसकेपछि तत्काल सेवा लिन नपाउँदा कोही जिल्ला प्रशासनको भुइँतला, कोही फलैचाँ, त कोही जिल्ला समन्वयको पार्किङस्थल वरपर थकित मुद्रामा भेटिन्छन् ।

    उनीहरूको एउटै गुनासो सुनिन्छ– “बल्ल बल्ल जिल्ला आइपुगिम्, फेरि यसरी लाइन कुरेर कत्ति बस्नु ? दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ का हुमानाथ भट्टराईले भने । आफ्ना आफन्त वा परिवारका अन्य सदस्यको साथ लिएर आएका दैनिक सय बढी सेवाग्राहीले यस्तै सास्ती खेप्दै आएका छन् । पछिल्लो समय बृद्धा भत्ता लिने सेवाग्राहीहरूलाई बढी सास्ती भएको छ ।

    जिल्ला प्रशासन कार्यालय खोटाङका राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर राईका अनुसार थप दर्ता स्टेशन र जनशक्ति नहुँदा परिचयपत्रको फारम भर्न ढिलाई भइरहेको बताए । दर्ता अपरेटर राईले भने, “दैनिक सय भन्दा बढी फारम भर्ने सेवाग्राही आउने गरेका छन् । पालैपालो सेवा दिँदै जाँदा वृद्धवृद्धा र अपाङ्गता भएका सेवाग्राहीले दुःख पाइरहेका छन् ।” उनले थपे, “राष्ट्रिय परिचयपत्रको फारम भर्दा वायोमेट्रिक्स गर्न दश औंलाको फिङ्गर प्रिन्ट, आँखाको रेटिनाको फोटोलगायतको डाटा समावेश गर्नुपर्ने हुँदा समय लाग्छ । जनशक्ति पनि अभाव छ ।” यसरी घण्टौं कुरेर राष्ट्रिय परिचयपत्र बनाउनुपर्ने बाध्यता धेरै सेवाग्राहीलाई छ । कहिले सर्भरले काम नगर्ने त कहिले धेरै भिड भएर पालो कुर्नुपर्ने समस्याले सेवाग्राही हैरानीमा परेका छन् ।

    यस्तै, हलेसी सल्लेका ७९ वर्षीया आस्मा राई पनि दिनभरि कुरेर रातको ८ बजे मात्र फारम भरेको सुनाईन् । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै कार्यालय समय बाहेक राति अवेर सम्म पनि फारम भराई दिएको अपरेटर राईको भनाई छ । अहिले सामाजिक सुरक्षा अन्तर्गत सुविधा लिइरहेका सेवाग्राहीहरूलाई खाता खोल्न बैंकहरूले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि फारम भर्नेहरूको संख्या थप बढेको पाइएको छ ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाईका फिल्ड सहायक गम्भीर खत्रीका अनुसार यसअघि भत्ता वितरण गरिरहेको बैंक परिवर्तन भएको र वडामा घुम्ति टोलीमार्फत फारम भरेका अधिकांशको सिस्टममा एप्रोभ नभएको भेटिएको उनले बताए ।

    हाल दश वटा स्थानीय तह रहेको यस जिल्लामा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय खोटाङबजारबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम हुँदै आएको छ । दर्ता अपरेटर राईका अनुसार ठूलो मात्रामा जनसंख्या रहेको खोटाङमा जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय खोटाङबजारमा मात्रै दर्ता स्टेशन हुँदा सेवाग्राहीलाई थप असहज भइरहेको औल्याए ।

    इलाका प्रशासन कार्यालय खोटाङबजारले जन्तेढुङ्गा गाउँपालिका, खोटेहाङ गाउँपालिका र वराहापोखरी गाउँपालिकाका नागरिकहरूको राष्ट्रिय परिचयपत्रको फारम भर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय दिक्तेलमा भने बाँकी दुई नगरपालिका र पाँच वटा गाउँपालिकाको एकै स्टेशनबाट सेवा प्रवाह गर्दा सेवाग्राही मारमा परिरहेका छन् ।

    आर्थिक वर्ष २०७७/७८ सालमा वडावडामा घुम्ती टोली पुगेर भरिएको राष्ट्रिय परिचयपत्रको समेत कार्ड आइपुगेको छैन । हलेसी क्षेत्रमा घुम्ती टोलीमार्फत फारम भरिएको राष्ट्रिय परिचयपत्र कार्ड आइसकेपनि वितरण गर्न बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले राष्ट्रिय परिचयपत्रका लागि फारम भर्न जिल्ला प्रशासन आएका सेवाग्राहीलाई राति अबेरसम्म लगाएर भएपनि फारम भरेर पठाउने व्यवस्था गरिएको बताइन् । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, “अहिले सामाजिक सुरक्षा भत्ता लिनेहरू बढी भएकाले अलि चाप बढिरहेको छ । यहीक्रम निरन्तर रहिरहे थप स्टेशन स्थापनाका लागि विभागसँग पहल गरिनेछ ।”

    उहाँका अनुसार अशक्त, अपाङ्गता भएका सेवाग्राहीहरूलाई स्थानीय तहसँग समन्वय गरि पालिकाको उपयुक्त केन्द्रमा अस्थायी दर्ता केन्द्र सञ्चालन गरेर राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम गर्दै आएको जानकारी दिइन् ।

    खोटाङ जिल्लामा २०७७ साल साउन १ गतेबाट राष्ट्रिय परिचयपत्रको फारम भर्ने काम सुरु गरिएको हो । हालसम्म जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय खोटाङबजार, वडावडामा पुगेर सञ्चालन गरिएको घुम्ती शिविर र अन्य दर्ता स्टेशनहरूमार्फत खोटाङ स्थायी ठेगाना भएका १ लाख २२ हजार ५६ जना नागरिकले राष्ट्रिय परिचयपत्रको फारम भरिसकेका छन् ।

    सम्बन्धित समाचार