Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङका स्थानीय सरकारहरू सेवाग्राही खोज्दै शहरमा

    खोटाङका स्थानीय सरकारहरू सेवाग्राही खोज्दै शहरमा


    • बुधवार, भाद्र ११ २०८२

    • नेपाल वाइड


    खोटाङका स्थानीय सरकारहरू सेवाग्राही खोज्दै शहरमा
    केपिलासगढी गाउँपालिकाले काठमाडौंमा आयोजना गरेका शिविरमा सेवालिदै नागरिकहरू ।

    खोटाङ, ११ भदौ । खोटाङको केपिलासगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शौधन राई (युनिक) पालिकाबासी खोज्न काठमाडौंमा व्यस्त छन् । वडा र पालिकामा आएर सेवा लिन नसक्ने बृद्ध, अशक्त नागरिकहरूलाई बसोबास गरिरहेकै ठाँउसम्म पुगेर सेवा दिन अधिकृत राईको टोली काठमाण्डौ पुगेका हुन् । विभिन्न कारणले संघीय राजधानी तथा प्रादेशिक राजधानीमा बसोबास गरिरहेका नागरिकहरूलाई सेवा दिन पछिल्लो समय स्थानीय सरकारहरू आंशिक सेवासहित सेवाग्राही खोज्दै शहर पसेका हुन् ।

    यसैक्रममा केपिलासगढी गाउँपालिकाले काठमाडौं सुकेधारास्थित गोर्खाली फिटनेस सेन्टरमा भदौ १० र ११ गते दुई दिने शिविरमार्फत पालिकाका नागरिकहरूलाई सेवा प्रदान गरेका हुन् । शिविरमा ४३ जना महिला तथा ३८ जना पुरुष गरि ८१ जना सेवाग्राहीको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिएको अधिकृत राईले जानकारी दिए ।

    यस्तै, ४३ जना सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र वितरणका साथै मालपोत कर संकलन गरिएको छ । वडाबाट प्रदान गरिने सिफारिसलगायतका सेवा काठमाडौंमै पाएपछि नागरिकले खुशी व्यक्त गरेका छन् ।

    यस्तै, दश स्थानीय तह रहेको खोटाङ जिल्लाको सबैभन्दा बढी सेवाग्राही रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौं सिनामङ्गलस्थित होटल जन्मभूमिमा बुधबारदेखि ४ दिने शिविर सुरु गरेको छ । सामाजिक सुरक्षा भत्ताका लाभग्राहीलाई सेवा प्रदान गर्न काठमाडौंमै सेवा सुरु गरिएको नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

    प्रवक्ता घिमिरेका अनुसार तराईमा रहेका सामाजिक सुरक्षा भत्ताका लाभग्राहीका लागि इटहरीस्थित इटहरी उपमहानगरपालिकामा शिविरको आयोजना गरिएको छ । काठमाडौंमा सञ्चालन गरिएको शिविरमा वडानम्बर–२ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई र वडानम्बर–१४ बुइपाका वडाध्यक्ष दिनेशकुमार राईको समन्वयमा शिविर आयोजना गरिएको नगरपालिकाले जनाएको छ ।

    यस्तै इटहरीमा सञ्चालन गरिने शिविरमा वडानम्बर–९ निर्मलीडाँडाका वडाध्यक्ष दिनेश कठायत र वडानम्बर–५ लफ्याङका वडाध्यक्ष एवम् नगरका प्रवक्ता घिमिरे खटिनेछन् । काठमाण्डौमा आयोजित शिविरको पहिलो दिन आज १ सय ६४ जना सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको नवीकरण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका सामाजिक सुरक्षा तथा पञ्जीकरण इकाईका फिल्ड सहायक गम्भीर खत्रीले जानकारी दिए ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका करिब छ सयबढी लाभग्राही काठमाडौंमै रहेकाले ४ दिनसम्म शिविर जारी रहने फिल्ड सहायक खत्रीले बताए । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराईको उपस्थितिमा शिविर सुरु गरिएको हो ।

    यसैबीच, खोटाङकै रावावेशी गाउँपालिकाले यही भदौ ५ र ६ गते सामाजिक सुरक्षा भत्ता नवीकरण, राष्ट्रिय परिचयपत्र वितरण तथा एकीकृत सेवा प्रवाह शिविर सम्पन्न गरेको छ ।

    शिविरमा ३ सय ३८ जना सेवाग्राहीलाई सेवा प्रदान गरिएको पालिकाका पञ्जीकरण शाखाका प्रमुख गिर बहादुर मगरले जानकारी दिए । शिविरमा १ सय ७४ जनाको सामाजिक सुरक्षा भत्ता नवीकरण, ८१ जनालाई राष्ट्रिय परिचयपत्र वितरण, १३ जनाको जन्मदर्ता, ३ जनाको मृत्युदर्ता, ९ जोडीको विवाहदर्ता, २ जोडीको सम्बन्ध विच्छेद, ९ जनाको बसाइसराइ, ५ जनाको नागरिकताको सिफारिस, ३८ जनाको सामान्य सिफारिस, १ जनाको नाबालक परिचयपत्र र ४ जनाको सामाजिक सुरक्षा भत्ता नयाँ दर्ता गरिएको शाखाका प्रमुख गिर मगरले जानकारी दिए ।

    शिविरमा गाउँपालिका अध्यक्ष फटिक कुमार श्रेष्ठ, उपाध्यक्ष कौशिला गुरुङ, वडाध्यक्षहरू ज्ञान बहादुर पाण्डे, गेहेन्द्रमान राई, विरेन्द्र मगर, मनकुमार गुरुङ र चिरञ्जीवी कार्की खटिएका थिए । पालिकाले आगामी भदौ १४ र १५ गते तराईतर्फ इटहरीस्थित इटहरी उपमहानगरपालिकाको सभाहलमा २ दिने शिविरको आयोजना गरिएको पालिका अध्यक्ष फटिक कुमार श्रेष्ठले बताए । जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरेर उनीहरू बसिरहेकै ठाउँमा सेवा उपलब्ध गराउने उद्देश्यसहित शिविरको आयोजना गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

    यस्तै ऐसेलुखर्क गाउँपालिकाले राजधानी काठमाडौँ र तराईतर्फ इटहरीमा सञ्चालन गरिएको दुई दिने शिविरमा ३ सय २० बढी सेवाग्राहीलाई सेवा प्रदान गरेको छ । पालिका बाहिर बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरि साउन २७ र २८ गते काठमाडौंस्थित चाबहिलको फुजी एकेडेमीमा र भदौ १ र २ गते इटहरीमा एकीकृत सेवा शिविरमार्फत सेवा प्रदान गरिएको गाउँपालिकाका प्रवक्ता एवम् वडानम्बर–३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिए ।

    शिविरमा सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका लाभग्राहीको नवीकरण, जन्म, मृत्यु तथा विवाह दर्ता, बसाइँसराइ र राष्ट्रिय परिचयपत्रको कार्ड वितरण गरिएको जनाइएको छ । गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राई र उपप्रमुख राजेशकुमार राजभण्डारी, वडाध्यक्षहरू र ३ जना वडासचिव शिविरमा खटिएको वडाध्यक्ष राजभण्डारीले जानकारी दिए ।

    आफ्ना नागरिकलाई पञ्जीकरण सम्बन्धिका सबै सेवा सहजरूपमा उपलब्ध गराउने गाउँ कार्यपालिकाको निर्णयअनुसार काठमाडौं र इटहरीमा शिविरको आयोजना गरि सेवा प्रदान गरिएको पालिका प्रमुख राईको भनाइ छ ।

    यस्तै, खोटाङ जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा गाउँपालिकाले पनि शिविर सञ्चालन गर्ने तयारी गरेको छ । गाउँपालिका स्थायी ठेगाना भई विभिन्न कारणवश काठमाडौं, पूर्वीतराई तथा दक्षिणी क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूलाई लक्षित गरि शिविर सञ्चालन गर्ने तयारी गरिएको पालिका अध्यक्ष अरुणादेवी राई “दिक्षा”ले जानकारी दिइन् ।

    पालिका अध्यक्ष राईका अनुसार भदौ १६ र १७ गते इटहरीस्थित दुर्गा पाटी प्यालेस ब्याङ्केट इटहरी, भदौ १९ र २० गते उदयपुरको चौदण्डीगढी नगरपालिका बेल्टारस्थित सिटीहलमा र भदौ २४ र २५ गते काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा शिविर सञ्चालन गरिने जानकारी दिइन् ।

    सम्बन्धित समाचार