Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा बन्दुक देखाएर धम्की दिने काँग्रेस नेता राईबिरुद्ध डाका मुद्दा दर्ता

    खोटाङमा बन्दुक देखाएर धम्की दिने काँग्रेस नेता राईबिरुद्ध डाका मुद्दा दर्ता


    • बुधवार, भाद्र १८ २०८२

    • नेपाल वाइड


    खोटाङमा बन्दुक देखाएर धम्की दिने काँग्रेस नेता राईबिरुद्ध डाका मुद्दा दर्ता

    खोटाङ, १८ भदौ । खोटाङमा सुमो चालकलाई चन्दा दिन बाध्य पार्न भरुवा बन्दुक देखाएर धम्की दिने अभियुक्त विरुद्ध डाका सम्बन्धी उद्योगको मुद्दा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई भदौ १६ गते बिहान आफ्नै घर अगाडि रोकेर चालक सविन वाइवामाथि भरुवा बन्दुक ताकेको आरोपमा नेपाली कांग्रेस खोटाङका जिल्ला कार्य समिति सदस्य श्यामकुमार राईविरुद्ध डाका उद्योग सम्बन्धी मुद्दा दर्ता भएको हो ।

    चन्दा दिन अस्वीकार गर्दा अभियुक्त राईले सडकमा बाँस तेर्स्याएर भरुवा बन्दुक ताकेर उडाइदिने भन्दै धम्की दिएकाले कानुनी कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङमा मुद्दा दर्ता गराएको चालक वाइवाले बताए । खार्मीस्थित बाँझोबारी घर भएका अभियुक्त राईले आफ्नै घर अगाडि सडकमा बाँस तथा मुढा तेस्र्याएर सडक अवरोध गरेर आक्रमणको प्रयास गरेको भिडियो यात्रुहरुले नै खिचेका थिए ।

    बन्दुकले ताक्न खोजेपछि राईकी श्रीमती टिकामाया राई र अर्को सुमो चालक सन्तोष कार्कीले उनलाई सम्झाएर रोकेका थिए । अभियुक्त राईको अवरोधकाबीच आइतबार काठमाडौँ जाने यात्रुलाई समयमै दिक्तेल पुर्याउनुपर्ने भएकाले सुमो भगाएर गाउँ पार गराएको र बीच बाटोसम्म आफ्नै भाइलाई बोलाएर यात्रुसहितको सुमो दिक्तेल ल्याएको चालक वाईवाले बताए ।

    अभियुक्त राईले भदौ १५ गते अर्का सुमो चालक जीवन कार्कीबाट भने तीन हजार रकम असुलेको यातायात व्यवसायीहरूले बताएका छन् । घटना लगत्तै चालक वाईवाले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिपसहित आफूहरूलाई खबर गरेको प्रहरीले जनाएको छ । घटनास्थल अर्थात् अभियुक्त राईको घरमा टोली पुग्दा घरमा ताला लगाइएको पाइएको प्रहरी चौकीका प्रमुख वरिष्ठ हवल्दार विन्द्र बहादुर नेपालीले जानकारी दिए । घटनापछि फरार रहेका राईले प्रयोग गर्दै मोबाइल स्वीच अफ रहेको पाइएको छ ।

    खार्मीस्थित जालपा आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेका राईले मादक पदार्थ सेवन गरेर यसअघि पनि गाउँमा अशान्ति सिर्जना गर्दै आउने गरेको स्थानीयले बताएका छन् । खार्मीमा भएको घटनाका आरोपित राईविरुद्ध डाका उद्योग सम्बन्धी कसूरमा मुद्दा दर्ता गरेर पक्राउ गर्नका लागि प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताए । राईलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायी संघ/संस्थाले माग गरेका छन् । यातायात व्यवसायी संघले भदौ १७ गते पत्रकार सम्मेलन गर्दै दोषीलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् ।

    खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मार्तिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल यातायात स्वतन्त्र मजदूर युनियन र अखिल नेपाल यातायात मजदूर संघ खोटाङले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गरेका हुन् । आगामी दिनमा जबरजस्ती चन्दा असुली भइरहे जिल्लामा यातायात व्यवसाय चलाउन समस्या हुने भन्दै उनीहरूले नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएका छन् ।

    राईलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ (२) (ग) बमोजिम कारबाही गर्न माग गरिएको छ । मुलुकी अपराध संहितामा ‘बाटो घाटो, एकान्तस्थल वा जंगलमा ढुकी डर, त्रास देखाई जोखिमी हतियार प्रयोग गरी वा सो प्रयोग गर्ने धम्की दिई वा चोरी गरेमा’ ५ वर्षदेखि १० वर्षसम्म कैंद र ५० हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

    सम्बन्धित समाचार