शुक्रवार, भाद्र २० २०८२
नेपाल वाइड
खोटाङ, २० भदौ । खोटाङमा सुमो चालकलाई चन्दा दिन बाध्य पार्न भरुवा बन्दुक देखाएर धम्की दिने नेपाली काँग्रेस खोटाङका जिल्ला सदस्य श्यामकुमार राईले चार दिनपछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । सुमो चालक सविन वाईवाले डाका सम्बन्धी मुद्दा दर्ता गरेपछि अभियुक्त राईले शुक्रबार बिहान जिल्ला प्रहरी कार्यालय खोटाङमा आएर आत्मसमर्पण गरेका हुन् ।
यही भदौ १६ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट दिक्तेलतर्फ आउँदै गरेको ना १ ज ४३७२ नम्बरको सुमोलाई काँग्रेस नेता राईले आफ्नै घर अगाडि रोकेका थिए । चन्दा दिन अस्वीकार गर्दा उनले सडकमा बाँस तेस्र्याएर भरुवा बन्दुकले उडाइदिने भन्दै चालक सविन वाईवालाई धम्की दिएका थिए । घटनाको क्रममा अभियुक्त राईले दिक्तेल–खार्मी सडक मर्मत गरेको भन्दै जबरजस्ती सहयोग रकम माग गरेका थिए । राईकी श्रीमती टिकामाया राई र अर्को सुमो चालक सन्तोष कार्कीले उनलाई सम्झाएर बन्दुक खोसेको उक्त घटनाको भिडियो यात्रुहरूले नै खिचेका थिए ।
चालक वाईवाले कानुनी कारवाहीको माग गर्दै बुधबार जिल्ला प्रहरी कार्यालय खोटाङमा डाँका उद्योगसम्बन्धी मुद्दा दर्ता गराएका थिए । घटना लगत्तै फरार बनेका काँग्रेस नेता राईलाई खोज्नका लागि प्रहरी परिचालन गरिएको थियो । जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक राजु विष्टका अनुसार आत्मसमर्पण गरेलगत्तै राईलाई जिल्ला अदालत खोटाङमा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको छ ।
हाल उनी जिल्ला प्रहरी कार्यालय खोटाङको हिरासतमा रहेका छन् र उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । खार्मीस्थित बाँझोबारी घर भएका अभियुक्त राईले भदौ १५ गते अर्का सुमो चालक जीवन कार्कीबाट तीन हजार रकम असुलेको यातायात व्यवसायीहरूले बताएका छन् । घटना लगत्तै चालक वाईवाले अस्थायी प्रहरी चौकी खार्मीमा भिडियो क्लिपसहित जानकारी दिएका थिए ।
नेता राईलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जिल्लास्थित १४ वटा यातायात व्यवसायी संघ र संस्थाले माग गरेका छन् । यातायात व्यवसायी संघले भदौ १७ गते पत्रकार सम्मेलन गर्दै दोषीलाई उन्मुक्ति नदिन आग्रह गरेका थिए ।
खोटाङ यातायात, पूर्वखोटाङ यातायात, तुवाचुङ मार्तिका यातायात, खोटाङ कालिका यातायात, पब्लिक मध्यपहाडी यातायात, हलेसी खोटाङ यातायात, दिक्तेल यातायात, यलम्बर सुम्निमा यातायात, यलम्बरहाङ अटो सेवा, शुभ खोटाङ यातायात, नेपाल यातायात स्वतन्त्र मजदूर युनियन र अखिल नेपाल यातायात मजदूर संघ खोटाङले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गरेका हुन् ।
आगामी दिनमा जबरजस्ती चन्दा असुली भइरहे जिल्लामा यातायात व्यवसाय चलाउन समस्या हुने भन्दै यातायात व्यवसायीहरूले नेपाल सरकारको ध्यानाकर्षणसमेत गराएका छन् । उनीहरूले यस्ता घटनाले यातायात क्षेत्रमा असुरक्षाको वातावरण सिर्जना भएको बताउँदै तत्काल कडा कारवाहीको माग गरेका छन् ।