बुधवार, भाद्र २५ २०८२
नेपाल वाइड
खोटाङ, २५ भदौं । जिल्ला प्रशासन कार्यालय खोटाङले कर्फ्यू आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बुधबार बेलुकी ५ बजेदेखि बिहीबार बिहान ६ बजेसम्मका लागि कफ्र्यू आदेश जारी गरेकी ह्न । जेनजीको आन्दोलन कारण देश विषम परिस्थितिमा पुगेपछि खोटाङमा पनि कर्फ्यू आदेश जारी गरिएको हो ।
जिल्ला प्रशासन कार्यालयले जारी गरेको कर्फ्यू आदेशले स्थानीय जनजीवनमा प्रत्यक्ष प्रभाव पारेको छ । कफ्र्यू आदेश जारी भएसँगै दिक्तेल बजारमा मानिसहरुको आवतजावत पातलिएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ क बमोजिम जारी गरिएको कर्फ्यू आदेशले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाभित्र पर्ने विशिष्ट क्षेत्रहरूलाई समेटेको छ । सदरमुकाम दिक्तेललगायत मुढे इलाका, सिद्धेश्वर गुफा जाने बाटो, अस्पतालचौकबाट लफ्याङ जाने बाटोको २ सय मिटर अगाडिसम्म कर्फ्यू लगाइएका मुख्य क्षेत्रहरूमा परेको छ ।
त्यस्तै अल्छेढुंगाबाट सोल्मा जानेबाटोको ५ सय मिटर अगाडिसम्म र रत्नपार्कबाट बाम्राङ जानेबाटोको ५ सय मिटर अगाडिसम्मको क्षेत्र समेत कफ्र्यूको दायरामा पारिएको छ । कर्फ्यूको अवधिमा सामान्य जनजीवन प्रभावित भए पनि अत्यावश्यक सेवाहरूलाई निरन्तरता दिइने व्यवस्था मिलाइएको छ ।
एम्बुलेन्स, दमकल, स्वास्थ्यकर्मीका सवारी साधन, इन्धन बाहक सवारी साधन, मानवअधिकार तथा कूटनीतिक नियोगका सवारी साधनहरूको आवागनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ । प्रशासनले जारी गरेको सूचना अनुसार कफ्र्यू लगाइएको क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न निषेध गरिएको छ ।
रणभीम गण मुढे ब्यारेकले माइकिङ गरेर कर्फ्यू आदेशको जानकारी दिएको छ । स्थानीय बासिन्दाहरूलाई कर्फ्यूको समय, स्थान र नियमहरूबारे जानकारी दिदै सबै नागरिकहरूलाई कफ्र्यूका नियमहरूको ईमानदारीपूर्वक पालना गर्न आग्रह गरेको छ ।