Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सहकारीमा कार्यरत महिलाको शंकास्पद मृत्यु, बलात्कारपछि हत्या भएको आशंका

    सहकारीमा कार्यरत महिलाको शंकास्पद मृत्यु, बलात्कारपछि हत्या भएको आशंका


    • मंगलवार, भाद्र ३१ २०८२

    • नेपाल वाइड


    सहकारीमा कार्यरत महिलाको शंकास्पद मृत्यु, बलात्कारपछि हत्या भएको आशंका
    मृत अवस्थामा फेला परेकी बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार ।

    खोटाङ, ३१ भदौ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियार शंकास्पद अवस्थामा मृत फेला परेकी छिन् । सोही गाउँपालिकाको वडानम्बर–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रेश्मिकाको भदौ ३० गते राति बतासेको ह्याकुले र रमितेडाँडाको बीचमा पर्ने मार्से सामुदायिक वनमा मृत फेला परेकी हुन् ।

    सहकारी संस्थाका अध्यक्ष सागर तामाङका अनुसार रेश्मिकाको भदौ ३० गते अपरान्ह चार बज्न लाग्दा कार्यालयबाट बाहिरिएकी थिईन् तर राति अबेरसम्म घर नपुगेपछि खोजीका क्रममा उनी सडक भन्दा करिब १५० मिटर तल पर्ने मार्से सामुदायिक वनको झाडीमा मृत अवस्थामा भेटिएकी हुन् ।

    स्थानीयबाट घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकी विज्ञ टोलीसहित अनुसन्धानका लागि घटनस्थल पुगेका छन् । घटनास्थललाई स्थानीयको सहयोगमा प्रहरीले सुरक्षित राखेको छ । घटनास्थलमा प्रहरी चौकी याङ्सोलाटार, छितापोखरी, भँडारेघाट र याम्खाको टोली गएरातिदेखि नै खटिएका छन् ।

    घटनास्थलको प्रकृति हेर्दा रेश्मिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको प्रहरीले जनाएको छ । मृतकका माईती पक्ष आईनपुगेकाले लास घटनास्थलमै रहेको सहकारी संस्थाका अध्यक्ष तामाङले जानकारी दिए । घटना शंकास्पद रहेकाले मृतकको लास पोस्र्टमाटमका लागि धरानको घोपा लाने तयारी गरिएको छ ।

    घटनास्थलका प्रत्यक्षदर्शीले दिएको जानकारी अनुसार मृत फेला परेकी रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ भने सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिएको स्थानीयले बताएका छन् । घटनास्थलको विवरण अनुसार त्यो भन्दा केही तल झोला र अन्डरवेर भेटिएको जनाइएको छ र घटनास्थलको सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा रेश्मिकाको शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए ।

    अन्डरवेर पाखामा भेटिए पनि शव भने लुगा लगाएको अवस्थामा देखिएको घटनास्थलमा पुगेका प्रत्यक्षदर्शीहरूले बताएका छन् । मृतकका आफन्तका अनुसार घटना अघि तिरतिरेधारामा अपरान्ह ४ः५३ बजेतिर रेश्मिका र श्रीमानबीच फोन सम्पर्क भएको थियो र त्यसको केही समयपछि रातामाटाबाट जङ्गलतर्फ जानेबेला रेश्मिकाको पारपानीका आफन्तसँग भेट भएको थियो ।

    त्यो भेटमा रेश्मिका ‘डराएको हाउभाउ’मा देखा परेको जनाइएको छ र खोजीगर्ने क्रममा राति करिब नौँ बजेको समयमा मृत फेला परेको स्थानीयले बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) खोटाङका पूर्वअध्यक्ष एवम् स्थानीयवासी रामप्रसाद दंगालले रेश्मिकाको बलात्कारपछि हत्या भएको भन्दै अपराधी पत्ता लगाएर कानूनी कारबाही गर्न सामाजिक सञ्जालमार्फत माग गरेका छन् ।

    सामुदायिक वनमा शंकास्पद अवस्थामा मृत फेला परेकी रेश्मिकाको श्रीमान र एक छोरी छन् र सात वर्षकी एकमात्र छोरीलाई काठमाडौँमा राखेर पढाउँदै श्रीमान–श्रीमती घरमा बस्दै आएको स्थानीयले बताएका छन् ।

    सम्बन्धित समाचार