Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भूमि समस्या समाधान आयोग पुनःस्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    भूमि समस्या समाधान आयोग पुनःस्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र


    • बुधवार, आश्विन २९ २०८२

    • नेपाल वाइड


    भूमि समस्या समाधान आयोग पुनःस्थापनाका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
    भूमि समस्या समाधान आयोग पुनःस्थापना गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाउदै भूमि अधिकार तथा श्रमिक सङ्गठन खोटाङ र अखिल नेपाल किसान महासंघ खोटाङका पदाधिकारीहरु ।

    खोटाङ, २९ असोज । भूमि अधिकार तथा श्रमिक सङ्गठन खोटाङ र अखिल नेपाल किसान महासंघ खोटाङले भूमि समस्या समाधान आयोग पुनःस्थापना गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

    जिल्ला प्रशासन कार्यालय खोटाङमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार ज्ञापनपत्र पठाउँदै दुई सङ्गठनले भूमिहीन र सुकुम्बासीहरूको हकहितका लागि यस्तो माग गरेका हुन् ।

    प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले अव्यवस्थित बसोवासी, भूमिहीन दलित, सुकुम्बासी र श्रमजीवी जनताको विरुद्धमा मानव अधिकार प्रतिकूल हुनेगरी आयोग खारेज गरेको सङ्गठनहरूले आरोप लगाएका छन् ।

    उक्त निर्णयले हजारौं भूमिहीन परिवारहरूको भविष्य अन्धकारमय बनाएको र उनीहरूको संवैधानिक अधिकारमा आघात पुगेको सङ्गठनहरूको दाबी छ । ज्ञापनपत्र लिएर जिल्ला प्रशासन कार्यालय पुगेको समूहले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको अनुपस्थितिमा निमित्त प्रमुख जिल्ला अधिकारी सुरेन्द्र भट्टराईलाई बुझाएको हो ।

    भूमि, आवास र परिवार प्रत्येक नागरिकको मौलिक अधिकार भएकाले उनीहरूको अधिकार सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने माग गरिएको भूमि अधिकार तथा श्रमिक सङ्गठनका अध्यक्ष प्रेम खनालले बताएका छन् ।

    उनले नेपालको संविधानले प्रत्येक नागरिकलाई सम्मानजनक जीवनयापनको अधिकार प्रदान गरेको र भूमिविहीनहरूलाई जग्गा उपलब्ध गराउनु राज्यको संवैधानिक दायित्व भएको तर्क गर्दै सरकारले यो दायित्व पूरा गर्न आयोग पुनःस्थापना अनिवार्य रहेको धारणा राखेका छन् ।

    दुवै सङ्गठनले भूमिसम्बन्धी समस्या समाधानका लागि आयोग पुनर्गठन गर्न, भूमिहीन तथा सुकुम्बासीहरूको नाममा जग्गा दर्ता गर्न, निष्पक्ष सर्वेक्षण प्रक्रिया अगाडि बढाउन र भूमि अधिकारका माग सम्बोधन गर्न ज्ञापनपत्रमार्फत सरकारसँग माग गरेका छन् ।

    ज्ञापनपत्रमा राज्यले भूमिहीन र सुकुम्बासी नागरिकका हकहित र सम्मानजनक जीवनयापनका लागि ठोस नीति, कानूनी व्यवस्था र कार्यान्वयन गर्न आवश्यक रहेको स्पष्ट रूपमा उल्लेख गरिएको छ ।

    सङ्गठनहरूले आयोग खारेज भएपछि भूमिहीन परिवारहरूले पाउनुपर्ने जग्गाको निस्सा वितरण प्रक्रिया ठप्प भएको र यसले हजारौं परिवारहरू अन्यौलमा परेको जनाएका छन् । सरकारले माग सम्बोधन नगरे किसान, श्रमिक र भूमिहीन समुदायलाई लिएर आन्दोलनका कार्यक्रम अगाडि बढाउने चेतावनी समेत दिइएको छ ।

    सङ्गठनहरूले शान्तिपूर्ण तरिकाले आफ्ना माग राख्दै आएको तर सरकारको उदासीनताले उनीहरूलाई आन्दोलनमा उत्रन बाध्य बनाउने अवस्था आएको बताएका छन् । तत्कालीन भूमि समस्या समाधान आयोग खोटाङका अध्यक्ष निर्मल राईका अनुसार दश स्थानीय तह रहेको जिल्लामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीगरी ७९२ घर लाभग्राही रहेका छन् ।

    यी लाभग्राहीहरूमध्ये धेरैले जग्गाको निस्सा प्राप्त गरिसकेका थिए र लालपुर्जा पाउने आशामा थिए तर आयोग खारेज भएपछि उनीहरूको सपना अधुरै रहेको छ । वर्तमान सरकारले आयोग नै खारेज गरेपछि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरू गहिरो अन्यौलमा परेका छन् र उनीहरूको जीवन अझ कठिन बन्दै गएको सङ्गठनहरूले जनाएका छन् । आयोग पुनःस्थापना नभए भूमिहीन समुदायको संघर्ष तीव्र हुने र यसले सामाजिक स्थिरतामा समेत असर पार्न सक्ने चेतावनी ज्ञापनपत्रमा दिइएको छ ।

    सम्बन्धित समाचार