Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्वर्गीय आमाको स्मृतिमा नगरप्रमुख भट्टराईद्वारा अक्षयकोष स्थापना

    स्वर्गीय आमाको स्मृतिमा नगरप्रमुख भट्टराईद्वारा अक्षयकोष स्थापना


    • आइतवार, कार्तिक १६ २०८२

    • नेपाल वाइड


    स्वर्गीय आमाको स्मृतिमा नगरप्रमुख भट्टराईद्वारा अक्षयकोष स्थापना
    अक्षयकोषको रकम विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावक संघलाई चेकमार्फत रकम हस्तान्तरण गर्दै नगरप्रमुख तीर्थराज भट्टराई तथा भट्टराई परिवारका सदस्यहरु ।

    खोटाङ, १६ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा परिवारका सदस्यले आफ्नो स्वर्गीय आमा पदमकुमारी भट्टराईको स्मृतिमा अक्षयकोष स्थापना गरेका छन् ।

    शैक्षिक क्षेत्रको विकास गर्दै भावी पुस्तालाई आर्थिक सहयोग उपलब्ध गराउने उद्देश्यसहित आइतबार दोर्पाचिउरीडाँडामा सञ्चालित विद्योदय माध्यमिक विद्यालयमा ‘गुण–लक्ष्मी–पदमकुमारी अक्षयकोष–२०८२’ स्थापना गरिएको हो ।

    पहिलो चरणमा दुई लाख दुई हजार २ सय २२ रुपैयाँ रकम जम्मा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहरमान राईले जानकारी दिए । गत वर्ष ८८ वर्षको उमेरमा निधन भएकी पदमकुमारीको वार्षिक पुण्यतिथिको अवसरमा उक्त कोष स्थापना गरिएको हो ।

    नगरप्रमुख भट्टराईले समाजमा धार्मिक संस्कारमा अनावश्यक खर्च गर्ने चलनलाई निरुत्साहित गर्दै संस्कार संस्कृति जगेर्ना गर्दै शैक्षिक–सामाजिक रूपले अगाडि बढ्ने चाहनाले अक्षयकोष स्थापना गरिएको बताए ।

    उनले वि.सं. २०१६ सालमा स्थापित विद्यालयलाई आफ्नो परिवारले निरन्तर आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको स्मरण गराए । जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले नगरप्रमुख भट्टराईको सामाजिक उत्तरदायित्वको प्रशंसा गर्दै सामुदायिक विद्यालयको शैक्षिक विकासका लागि अक्षयकोषहरू आवश्यक रहेको बताए ।

    अक्षयकोषको रकम विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावक संघलाई चेकमार्फत हस्तान्तरण गरिएको छ भने केहीदिनमा सिटिजन बैंक दिक्तेल शाखामा खाता खोलेर जम्मा गरिनेछ । कोषबाट प्राप्त ब्याज रकम वार्षिकरूपमा विद्यार्थीलाई पुरस्कार वितरण र शैक्षिक गतिविधिमा खर्च गरिने विद्यालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार