शनिवार, कार्तिक २२ २०८२
नेपाल वाइड
खोटाङ, २२ कात्तिक । जेन–जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय काभ्रेको हिरासतबाट भागेका खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङस्थित केराबारीका २३ वर्षीय प्रवीण मगर पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा अनुसन्धान भइरहेको बेला इलाका प्रहरी कार्यालयको हिरासतबाटै भागेका मगरलाई खोटाङ गाउँ आएर घरमै लुकिछिपी बसिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको हो ।
जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते हिरासतबाट भागेका मगरलाई स्थानीयले दिएको जानकारीको आधारमा कात्तिक २० गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी सुशान्त मिश्रले जानकारी दिए ।
उनले भने, “मगर गाउँ आएर घरमै लुकिछिपी बसिरहेको स्थानीयको सूचना पाएपछि हामीले तत्काल कारबाही ग¥यौं ।” प्रहरीले दुई महिनासम्म फरार रहेका मगरलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेको भोलिपल्ट अड्डासार गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याइएका मगरलाई शनिबार बिहान बनेपा इलाका प्रहरी कार्यालय काभ्रेमा लगेर बुझाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मगरलाई पुनः हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।