Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दुमी किरात राई फन्सीकीमको अध्यक्षमा ऋखीश्वर दुमी राई चयन

    दुमी किरात राई फन्सीकीमको अध्यक्षमा ऋखीश्वर दुमी राई चयन


    • बिहिवार, मंसिर १८ २०८२

    • नेपाल वाइड


    दुमी किरात राई फन्सीकीमको अध्यक्षमा ऋखीश्वर दुमी राई चयन

    खोटाङ, १८ मंसिर । दुमी किरात राई फन्सीकीमको केन्द्रीय अध्यक्षमा ऋखीश्वर सरचु दुमी राई चयन भएका छन् । दुमी किरात राईहरुको उद्गमस्थल मानिने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीस्थित रुधालुङमा सम्पन्न फन्सीकीमको आठौं राष्ट्रिय महाधिवेशनले उनलाई सर्वसम्मत रूपमा अध्यक्षमा चयन गरेको हो ।

    नवनिर्वाचित २१ सदस्यीय केन्द्रीय समितिको वरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मुरह दुमी राई, दुई उपाध्यक्षहरुमा तेजमायाँ मुरह दुमी राई र शिवकुमार दिम्माचु दुमी राई तथा महासचिवमा प्रकाश दिम्माचु दुमी राई चयन भएका छन् ।

    दुई सचिवमा हर्कजङ तुराचु दुमी राई र लवकुमार लुप्पो दुमी राई तथा कोषाध्यक्षमा मातेराज सत्म दुमी राई चयन भएको नवनिर्वाचित महासचिवले जानकारी दिए । समितिको सदस्यहरुमा सन्तोष सत्म दुमी राई, धनचन्द्र दिम्माचु दुमी राई, कृष्ण हदी दुमी राई, वसन्त लुप्पो दुमी राई, कृष्ण सत्म दुमी राई लगायत रहनुभएको छ ।

    समितिको सल्लाहकारमा पूर्व सांसद् टंक कम्रचु दुमी राई, पूर्व गाविस अध्यक्ष बलराम सरचु दुमी राई, क्याप्टेन नैनबहादुर सत्म दुमी राई, गणभक्त सत्म दुमी राई, हीरामणि सत्म दुमी राई र रामबहादुर खबचु दुमी राई रहनुभएको छ ।

    नवनिर्वाचित केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरुलाई फन्सीकीमका संस्थापक अध्यक्ष एवम् संस्कृतिविद् चतुरभक्त सत्म दुमी राईले तीन चुल्हा साँक्षी राखेर पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।

    पुख्र्यौली ज्ञान साझा पहिचान भन्ने नाराका साथ आयोजना गरिएको महाधिवेशनको उद्घाटन दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले गर्नुभएको थियो। महाधिवेशन उद्घाटनमा साकेला सिली, मारुनी नाच, कुबी तथा तयातङ्कुबाट मुन्दुमी बखान लगायतका कार्यक्रम प्रदर्शन गरिएको थियो ।

    किरात राई संस्कार तथा संस्कृति झल्कने स्टलहरु राखिएको महाधिवेशनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका प्रमुख समिर राई, साम्पाङ राई जुम्लेखाका केन्द्रीय अध्यक्ष वीरकाजी राई, खार्मीका वडाध्यक्ष ईखबहादुर राई, जालपाका वडाध्यक्ष दानबहादुर राई, नेर्पाका वडाध्यक्ष माधव राई, किरात पुर्खा, संस्कृतिविद्, कुबी तथा तयातङ्कु लगायतको उपस्थिति थियो । दुमी किरात राई समुदायले खोटाङको खार्मी, जालपा, बाक्सिला, सप्तेश्वर र माक्पालाई आफूहरुको उद्गम थलो मान्ने गरेका छन् ।

    सम्बन्धित समाचार