शुक्रवार, मंसिर २६ २०८२
नेपाल वाइड
खोटाङ, २६ मङ्सिर । राष्ट्रिय परिवर्तन पार्टी खोटाङबाट आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि २५ वर्षीय मिरेश राईको एकल उम्मेदवारी घोषणा भएको छ ।
दिक्तेलमा आयोजित सभामा हलेसी तुवाचुङ नगरपालिका ५ दुर्छिम निवासी मिरेशले उम्मेदवारी घोषणा गरेका हुन् । महेन्द्र रत्न क्याम्पस बहुमुखी ताहाचलमा शिक्षा शंकाय लिएर स्नातक तह तेस्रो वर्षमा अध्ययनरत मिरेश जेनजी आन्दोलनमा सहभागी युवक हुनुहुन्छ ।
युवाको माग र पुराना राजनीतिक दलप्रति जनतामा बढ्दो निराशा चिर्नका लागि आफूले उम्मेदवारी घोषणा गरेको उनले बताएका छन् । पार्टीले सात बुँदे चुनावी घोषणापत्र सार्वजनिक गरेको छ जसमा प्रत्यक्ष कार्यकारी राष्ट्रपति प्रणाली, शुन्य भ्रष्टाचार, नेपालका युवा नेपालमै, पूर्ण पारदर्शी सरकार, राष्ट्रिय सार्वभौमिकता र न्याय शिक्षा स्वास्थ्यको देश जस्ता बुँदा समेटिएको छ ।
उम्मेदवारी घोषणा अघि दिक्तेल बजारमा चुनाव चिन्ह बाँसुरीसहितको र्याली प्रदर्शन गरिएको थियो । पार्टीले २१ वर्षीय तपसेन राईको अध्यक्षतामा २९ सदस्यीय जिल्ला कार्यसमति गठन गरिसकेको छ ।