Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जन्तेढुङ्गा गाउँपालिकाका सब इन्जिनियरमाथि हातपात, कर्मचारीहरुको आपत्ति

    जन्तेढुङ्गा गाउँपालिकाका सब इन्जिनियरमाथि हातपात, कर्मचारीहरुको आपत्ति


    • आइतवार, मंसिर २८ २०८२

    • नेपाल वाइड


    जन्तेढुङ्गा गाउँपालिकाका सब इन्जिनियरमाथि हातपात, कर्मचारीहरुको आपत्ति
    जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय ।

    खोटाङ, २८ मंसिर । खोटाङको जन्तेढुङ्गा गाउँपालिकामा कार्यरत सब इन्जिनियरमाथि स्थानीयले हातपात गरेको भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । चिमापानी बजारमा सञ्चालित बजार ढलान योजनाको अनुगमन गर्ने क्रममा सब इन्जिनियर रमेशकुमार यादवमाथि स्थानीय शुभचन्द्र राई र सुमन राईले हातपात गरेको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    अनुगमन जस्तो संवेदनशील काममा खटिएका कर्मचारीमाथि भएको अवाञ्छित, अमानवीय र निन्दनीय व्यवहार अत्यन्त दुःखद् तथा अस्वीकार्य रहेको कर्मचारीहरूले जनाएका छन् । विकास निर्माणकार्यलाई पारदर्शी र गुणस्तरीय बनाउन कार्यरत कर्मचारीको सुरक्षामाथि प्रश्न उठ्ने यस्ता घटनाले स्थानीय शासन प्रणालीलाई कमजोर बनाउने खतरा रहेको चिन्ता व्यक्त गरिएको छ ।

    कर्मचारीहरूले दोषीमाथि कानून बमोजिम छानबिन तथा कडा कारबाही गर्न माग गर्दै घटनामा संलग्न व्यक्तिमाथि कानूनी कारबाही नभएसम्म सम्बन्धित योजना तथा कार्यस्थलका सम्पूर्ण कार्य अस्थायी रूपमा टप्प रहने जनाएका छन् ।

    गाउँपालिका प्रमुख अरुणादेवी राई, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईंसहितको उपस्थितिमा अनुगमन भइरहेको बेला हातपात भएको यादवले बताएका छन् । तर आरोपित शुभचन्द्रले भने हातपात गरेको नभई आक्रोशित भीडलाई नियन्त्रणमा लिन खोज्दा ठेलाठेल भएको बताएका छन् ।

    चिसापानी बजारको सडक ढलानको काम गुणस्तरहीन भइरहेकाले खोलाबाट उठाएको गिटी प्रयोग गर्न लागेपछि सामान्य विवाद भएको उनको भनाई छ । चिमापानी बजार ढलान योजनाका लागि वियन्स/अग्रिम जेभीले भ्याटसहित एक करोड ४४ लाख दुई हजार ३३ मा काम गरिरहेको छ ।

     

    सम्बन्धित समाचार