Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हलेसी तुवाचुङमा बदाम उत्पादक किसानलाई प्रोत्साहन रकम वितरण

    हलेसी तुवाचुङमा बदाम उत्पादक किसानलाई प्रोत्साहन रकम वितरण


    • बुधवार, पौष २ २०८२

    • नेपाल वाइड


    हलेसी तुवाचुङमा बदाम उत्पादक किसानलाई प्रोत्साहन रकम वितरण
    बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण नगर प्रमुख विमला राई र उपप्रमुख रमेश राउत ।

    खोटाङ, २ पौष । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम वितरण गर्न थालेको छ । बदाम खेतीमा विस्तार, पोषण सुरक्षा र आम्दानीको आधार भन्ने नाराका साथ सञ्चालित कार्यक्रम अन्तर्गत न्यूनतम पाँच मुरी बदाम उत्पादन गर्ने किसानलाई दुई हजार पाँच सय रुपैयाँ र त्यसभन्दा बढी उत्पादन गर्नेलाई प्रतिमुरी तीन सय रुपैयाँका दरले प्रोत्साहन रकम दिइने नगर प्रवक्ता कमल गिरीले जानकारी दिए ।

    चालू वर्ष नगरपालिकामा तीन हजार एक सय २८ मुरी अर्थात् ९३ दशमलव ८४ मेट्रिकटन बदाम उत्पादन भएको छ । प्रोत्साहन रकम पाउन किसानले निवेदन दिनुपर्ने र कृषि शाखाका कर्मचारीले मूल्याङ्कन गरेपछि मात्र रकम उपलब्ध गराइने व्यवस्था छ ।

    पहिलो चरणमा वडानम्बर पाँच दुर्छिमका १३ जना किसानलाई ६२ हजार २०० रुपैयाँ, वडानम्बर सात महादेवस्थानका ४३ जना किसानलाई दुई लाख ३२ हजार तीन सय रुपैयाँ र वडानम्बर आठ धितुङका १५८ जना किसानलाई सात लाख दश हजार ६०० रुपैयाँ वितरण गरिएको कृषि शाखा प्रमुख रविन भट्टराईले बताएका छन् ।

    नगरपालिकाको कार्यालय टाढा पर्ने वडानम्बर दुई डिकुवा र वडानम्बर ११ राजापानीका किसानलाई वडा कार्यालयमार्फत वितरण गर्ने योजना बनाइएको छ। डिकुवाका २४ जना किसानले २६० मुरी र राजापानीका २४ जना किसानले २३१ मुरी बदाम उत्पादन गरेका छन् ।

    यस वर्ष सबैभन्दा बढी धितुङका गोपाल बुढाथोकीले ४१ मुरी बदाम उत्पादन गरेका छन् । गत वर्षको तुलनामा यस वर्ष ४६ दशमलव ३५ प्रतिशतले बदाम उत्पादनमा वृद्धि भएको छ । सुख्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामा मात्रै उत्पादन हुने बदाम खेती प्रवद्र्धनका लागि गत वर्षदेखि प्रोत्साहन रकम वितरण कार्यक्रम सञ्चालनमा आएको हो ।

    नगर प्रमुख विमला राईले बदाम खेतीलाई प्रवद्र्धन गर्दै ब्रान्डिङ गरेर बिक्री गर्ने योजना रहेको बताईन् । उहाँले बदाम बिक्रीबाट किसानले राम्रो आम्दानी गरिरहेको र रैथाने बालीको रुपमा उत्पादित बदाम र गहतलाई नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्ने लक्ष्य रहेको जानकारी दिईन् ।

    हाल किसानले उत्पादन गरेका बदाम व्यवसायीले खरिद गरेर हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला र छिमेकी जिल्ला ओखलढुङ्गा लगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये यो नगरपालिकामा मात्र बदाम खेती हुँदै आएको छ ।

    त्रिधार्मिकस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीको रुपमा यहाँको बदाम लैजाने गरेको व्यवसायीहरुले बताएका छन् । नगरपालिकाले आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवद्र्धन गर्ने उद्देश्यले हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि संकलन केन्द्रसमेत सञ्चालन गरिरहेको छ ।

     

    सम्बन्धित समाचार