Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    बुइपामा माघ ७ देखि सर्वाधिक राशीको ‘प्रभुराम राई कप’ फुटबल प्रतियोगिता हुने

    बुइपामा माघ ७ देखि सर्वाधिक राशीको ‘प्रभुराम राई कप’ फुटबल प्रतियोगिता हुने


    • मंगलवार, पौष १५ २०८२

    • नेपाल वाइड


    बुइपामा माघ ७ देखि सर्वाधिक राशीको ‘प्रभुराम राई कप’ फुटबल प्रतियोगिता हुने
    बुइपा ११ स्पोर्टस् क्लबले खेल सम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

    खोटाङ, १५ पौष । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानम्बर–१४ बुइपामा सर्वाधिक राशीको आमन्त्रित पुरुष फुटबल प्रतियोगिता हुने भएको छ । बुइपा ११ स्पोर्टस् क्लबको आयोजना तथा स्थानीयवासी प्रभुराम राई परिवारको प्रायोजनमा आगामी माघ सात गतेदेखि ११ गतेसम्म ‘प्रभुराम राई कप २०८२’ आमन्त्रित फुटबल प्रतियोगिता हुने भएको हो ।

    बुइपास्थित यलम्बर रङ्गशालामा हुने प्रतियोगिताका विजेतालाई नगद तीन लाख रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । जिल्लाभित्रका छ र बाहिरी जिल्लाका चारवटा फुटबल क्लब सहभागी हुने प्रतियोगिताका उपविजेताले नगद एक लाख ५१ हजार रुपैयाँ र सेमिफाइनलिष्ट दुई टोलीले ५०\५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

    सर्वोत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ र विद्यागत पुरस्कारतर्फ सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत जनही नगद १५/१५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मङ्गलबार दिक्तेलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

    विसं २०६२ मा स्थापित बुइपा ११ स्पोर्टस् क्लबका अध्यक्ष प्रभुराम राईको सम्मानमा परिवारका सदस्यहरुले प्रतियोगिता आयोजना गर्न लागेका हुन् । तत्कालीन बुइपा गाउँ पञ्चायतका निर्वाचित प्रधानपञ्च तथा पूर्व ब्रिटिस गोर्खा सैनिक प्रभुरामको खेल क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानलाई कदर गर्दै उक्त प्रतियोगिता आयोजना गरिएको हो ।

    ८२ वर्षीय प्रभुरामको सम्मान गर्दै जिल्लामा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सोही वडाका वडाध्यक्ष समेत रहनुभएका उहाँका जेठा छोरा दिनेश राईले बताए । प्रतियोगिता सम्पन्न गर्न १७ लाख तीन हजार रुपैयाँ लाग्ने र सम्पूर्ण आर्थिक बन्दोबस्ती परिवारले मिलाएको जानकारी दिइएको छ । फुटबल खेलको विकासका लागि बुइपाको राजावासमा आफ्नै खेलमैदान निर्माण गर्नुभएका प्रभुरामको नेतृत्वमा बुइपा ११ स्पोर्टस् क्लबका खेलाडीहरु गत वर्ष कोशी प्रदेश लिग फुटबल प्रतियोगिता २०८१ मा उपविजेता बनेका थिए ।

    सम्बन्धित समाचार