बुधवार, पौष १६ २०८२
नेपाल वाइड
खोटाङ, १६ पुस । खोटाङको हलेसी मन्दिर क्षेत्रबाट एक जना चिनियाँ नागरिक पक्राउ परेकी छन् । हलेसी तुवाचुङ नगरपालिका वडानम्बर सात महादेवस्थानको हलेसी मन्दिर क्षेत्रमा गैरकानुनी रुपमा बसोबास गर्दै आएकी जियायो जियायीन नाम बताउने चिनियाँ महिलालाई प्रहरीले पक्राउ गरेको हो ।
हलेसीमा गैरकानुनी रुपमा बसोबास गर्दै आएको गोप्य सूचनाको आधारमा चिनियाँ महिलालाई पुस १५ गते इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक आकाश उप्रेतीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेकी महिलालाई अध्यागमन विभाग कालिकास्थान काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । प्रहरीका अनुसार चिनियाँ महिलाले आफू सेन्झेन ग्वाङडोङ प्रदेश नन्याङ रोड जिङसुइ जिल्लाबासी भएको बताएकी छन् ।
हलेसी क्षेत्रमा उनी कति समयदेखि बसोबास गर्दै आएकी थिइन् र के कारणले त्यहाँ बसेकी थिइन् भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्रिधार्मिक स्थल हलेसीमा पछिल्लो समय विदेशी नागरिकको आवतजावत बढेको र सुरक्षा व्यवस्था कडा पारिएको जनाईएको छ ।