Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

    खोटाङको दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना


    • शुक्रवार, माघ २ २०८२

    • नेपाल वाइड


    खोटाङको दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना
    खोटाङको दिक्तेल बजारमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय ।

    खोटाङ, २ पौष । खोटाङको दिक्तेल बजारमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन व्यवस्थापन, मतदाता शिक्षा, उम्मेदवारी दर्ता, निर्वाचन आचारसंहिता कार्यान्वयन तथा समग्र निर्वाचन प्रक्रिया प्रभावकारी बनाउन शुक्रबार जिल्ला अदालत खोटाङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

    दिक्तेलबजारमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनसम्बन्धी सम्पूर्ण प्रशासनिक तथा प्राविधिक कार्य सञ्चालन गरिने जनाइएको छ । जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएसँगै प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी औपचारिक रूपमा अघि बढेको छ ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वसनीय बनाउन आवश्यक सबै तयारी अघि बढाएको छ । निर्वाचन प्रक्रियामा सरोकारवालाको सहभागिता, मतदाताको सहज पहुँच र कानूनको पूर्ण पालना सुनिश्चित गरिने मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीले बताए ।

    दिक्तेलमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै खोटाङमा निर्वाचनको सरगर्मी बढेको छ । आगामी निर्वाचन सफल बनाउन सरोकारवाला निकायहरूले पनि सहकार्य र समन्वयलाई तीव्र बनाउने प्रतिवद्धता जनाएका छन् । आगामी निर्वाचनलाई सफल बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको टोलीलाई समेत परिचालन गरिने बताइएको छ ।

    निर्वाचन सुरक्षाका लागि प्रत्येक मतदानस्थललाई केन्द्रित गरेर सुरक्षा व्यवस्थामा समेत कडाइ गरिने जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ । आगामी निर्वाचनका लागि खोटाङमा एक हजार दुई सय ८२ जना निर्वाचन प्रहरी नियुक्त गरिने जनाइएको छ । निर्वाचन प्रहरीका लागि आवेदन दिने युवाको उत्साहजनक सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले जानकारी दिए ।

    मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरेको छ । कार्यालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार माघ ६ गते उम्मेदवारको मनोनयन दर्ता, माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी र उम्मेदवारको नामावली प्रकाशन, माघ ९ गते उम्मेदवारले आफ्नो नामावली फिर्ता लिन पाउने र सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिन्ह प्रदान गर्ने भएको छ ।

    प्रतिनिधिसभातर्फ एउटामात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा आगामी निर्वाचनका लागि एक सय ३६ वटा मतदानस्थल तथा एक सय ९५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । दश स्थानीय तह रहेको जिल्लामा एक लाख ४७ हजार एक सय २० जना मतदाता रहेका छन् ।

    सम्बन्धित समाचार