आइतवार, माघ ४ २०८२
नेपाल वाइड
खोटाङ, ४ माघ । नेपाली कम्युनिष्ट पार्टी नेकपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा अर्थ राजनीतिक विश्लेषक डा. हरि रोकालाई टिकट दिएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका वडानम्बर–२ डाँडागाउँस्थित खुतुम्बु निवासी अर्थ राजनीतिक विश्लेषक डा. रोकालाई नेकपाले प्रतिनिधिसभा सदस्यको टिकट दिएको हो ।
खोटाङका नेताहरुसहित आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका अर्थ राजनीतिक विश्लेषक डा. रोकालाई पार्टी संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टिकट दिनुभएको हो ।
जिल्ला संयोजक दीपक पाण्डे आकाशका अनुसार पार्टीका सहयोजक एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका केन्द्रीय नेताहरुको उपस्थितिमा डा. रोकालाई संयोजक प्रचण्डले टिकट दिनुभएको हो ।
डा. रोकालाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारको टिकट दिनुहुँदै संयोजक प्रचण्डले नेपालका सुप्रसिद्ध वाम विश्लेषक राजनीतिक अभियानमा जोडिँदा देशभर बलियो सन्देश प्रवाह भएको प्रतिक्रिया दिनुभएको छ ।
संयोजक प्रचण्डले डा. रोकालाई खोटेहाङ्गे नेता तथा जनताले प्रतिनिधिसभा सदस्यमा जिताएर पठाएको खण्डमा अर्थमन्त्री बनाउने आश्वासन दिनुभएको भिडियो क्लिप्ससमेत सार्वजनिक भएको छ ।
अर्थ राजनीतिक विश्लेषक डा. रोका संविधानसभा सदस्यसमेत हुनुहुन्छ । विसं २०३४ सालदेखि वामपन्थी राजनीतिमा सक्रिय अर्थ राजनीतिक विश्लेषक डा. रोकाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि नेकपाबाट टिकट लिनुभएपछि पार्टी नेता तथा कार्यकर्ताहरु उत्साहित बनेका छन् ।
विसं २०३१ सालमा एसएलसी उत्तीर्ण गर्नुभएका नेकपाका उम्मेदवार डा. रोकाले विसं २०७३ सालमा अर्थशास्त्रमा विद्यावारिधि पिएचडी उत्तीर्ण गर्नुभएको जनाइएको छ । राजनीतिक कामका लागि सक्रिय हुँदा पञ्चायतकालमा सात वर्ष नौ महिना जेल जीवन बिताएका डा. रोका आठ महिना हिरासतमा समेत बस्नुभएको थियो ।
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी, नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लामा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरि निर्वाचन प्रहरी समेत छनोट कार्य सुरु गरिएको छ । खोटाङ जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार एक सय २० जना मतदाता कायम भएको निर्वाचन कार्यालयले जनाएको छ ।