शुक्रवार, माघ ९ २०८२
नेपाल वाइड
खोटाङ, ९ माघ । सशस्त्र प्रहरी बल नेपाल नंम्वर– ७ गुल्म हलेसी खोटाङले आफ्नो गुल्म स्थापनाका लागि निःशुल्क जग्गा प्रदान गर्ने १७ जना जग्गादाता र २५ जना सहयोगीहरूको नाम शिलालेखमा लेखेर सम्मान गरेको छ । सशस्त्र प्रहरीको २५ औं स्थापना दिवसको अवसरमा करोडौं मूल्य बराबरको ४३ रोपनी चार आना दुई पैसा एक दाम जग्गा निःशुल्क उपलब्ध गराउने जग्गादाताहरूको सम्मानस्वरूप शिलालेख निर्माण गरी औपचारिक रूपमा अनावरण गरिएको गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेले जानकारी दिए ।
विसं २०६७ सालमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ लफ्याङ र वडा नं. ५ खाल्लेको सीमानामा पर्ने मझुवागढीमा स्थापित गुल्मका लागि सबैभन्दा बढी सावित्रा विष्टले सात रोपनी दुई पैसा एक दाम जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
यस्तै, खड्गबहादुर कटवालले पाँच रोपनी दुई पैसा तीन दाम, भूपराज कटवालले पाँच रोपनी तीन दाम, भीमबहादुर कटवालले तीन रोपनी ११ आना दुई दाम, गोविन्दबहादुर कटवाल (क)ले तीन रोपनी पाँच आना दुई दाम, सीताराम कटवालले तीन रोपनी दुई आना तीन दाम जग्गा दिएका छन् ।
त्यसैगरी, धनमाया कटवालले दुई रोपनी दश आना एक पैसा तीन दाम, छत्रबहादुर कटवालले दुई रोपनी दश आना, भक्तबहादुर र पुष्पबहादुर कटवालले दुई–दुई रोपनी, ध्रुबलाल र केशरबहादुर कटवालले एक–एक रोपनी एक आना दुई पैसा एक दाम, ललितबहादुर कटवालले एक रोपनी दुई पैसा तीन दाम, चंखबहादुर कटवालले एक रोपनी, कृष्णबहादुर कटवालले १४ आना दुई दाम, खेमबहादुर कटवालले १३ आना दुई पैसा र बर्तकुमारी राजबंशीले १२ आना एक पैसा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।
शिलालेखमा गुल्म स्थापनाका लागि विशेष पहल गर्ने संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य विशाल भट्टराई, पूर्वजिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङ, वरिष्ठ अधिवक्ता देवराज कटवाल लगायत २५ जना सहयोगीहरूको नाम समेत उल्लेख गरिएको छ । सशस्त्र प्रहरीले स्थापना दिवसको अवसरमा जिल्लाका ७० वर्षमाथिका ३५ जना जेष्ठ नागरिकलाई जाडोमा प्रयोग हुने न्यानो टोपी वितरण गरी सम्मान गरेको थियो ।
समाजमा जेष्ठ नागरिकप्रति सम्मान, सहकार्य र सुरक्षाको भावना अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । यसअघि पुस १६ गते जिल्ला अस्पताल खोटाङमा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको थियो । यस्तै, पर्यटकीयस्थल मझुवागढीमा फलामे फलैंचा निर्माण समेत गरिदिएको छ । महिनादिनसम्म मनाइएको दिवस समापनको अवसरमा उत्कृष्ट काम गर्ने पदिक तथा कर्मचारीहरूलाई पुरस्कृत समेत गरिएको जनाइएको छ ।