Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    हरि रोका जिताउन काठमाडौंमा १०१ सदस्यीय स्वतन्त्र सहयोग समिति गठन

    हरि रोका जिताउन काठमाडौंमा १०१ सदस्यीय स्वतन्त्र सहयोग समिति गठन


    • शनिवार, माघ १७ २०८२

    • नेपाल वाइड


    हरि रोका जिताउन काठमाडौंमा १०१ सदस्यीय स्वतन्त्र सहयोग समिति गठन

    काठमाडौ, १७ माघ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत खोटाङका उम्मेदवार अर्थ तथा राजनीतिक विश्लेषक डा. हरि रोकालाई विजयी गराउने उद्देश्यले काठमाडौंमा गणेश अधिकारीको संयोजकत्वमा १०१ सदस्यीय ’हरि रोका जिताऔं स्वतन्त्र सहयोग समिति’ गठन भएको छ ।

    सिम्पानी माध्यमिक विद्यालय, सिम्पानीका सेवा निवृत्त प्रधानाध्यापक अधिकारीको संयोजकत्वमा गठित यस समितिमा सेवा निवृत्त जिल्ला शिक्षा अधिकारी शंकर कार्की, त्रिभुवन माध्यमिक विद्यालय ऐसेलुखर्कका सेवा निवृत्त प्रधानाध्यापक लब कुमार राई, सेवा निवृत्त शिक्षक रामकाजी गुरुङ, वरिष्ठ अधिवक्ता हरिन्द्र राई, पत्रकार भूपराज खड्कालगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश छन् । काठमाडौंमा शनिबार भएको भेलाले उम्मेद्धार रोका खोटाङको विकास र खोटाङे जनताको आवाज दह्रोसँग संसदमा राख्न सक्ने व्यक्तित्व रहेको निष्कर्ष निकाल्दै सहयोग समिति गठन गरेको हो ।

    भेलाले हरि रोका हार्नु भनेको खोटाङले हार्नु सरह रहेको निष्कर्ष समेत निकालेको छ । संयोजक अधिकारीले सहयोग समिति कुनै पार्टी निकट नभएर राम्रो मान्छेलाई जिताएर खोटाङको आवाजलाई सशक्त रूपमा संसदमा पुर्‍याउनु रहेको बताएका छन् । समितिमा कुनै पार्टीमा आस्थावान मात्र नभएर हरि रोकालाई जिताउन चाहने सबैलाई समेटेर अघि बढिने उनको भनाइ छ ।

    भेलाले रोका आफैं कुनै दल वा पार्टीमा लागेको भन्दा पनि स्वतन्त्र वाम तथा अर्थ विश्लेषक रहेको र उनले तारा चुनाव चिह्न लिएर उठेकाले जेनजीदेखि खोटाङे सबैको साझा उम्मेदवार उनी नै रहेकोमा जोड दिएको छ ।

    नेकपा खोटाङ–काठमाडौं सम्पर्क मञ्चको पनि समिति गठन

    यसैबीच, नेपाली कम्युनिष्ट पार्टी, खोटाङ–काठमाडौं सम्पर्क मञ्चले पनि हरि रोकालाई जिताउन १०१ सदस्यीय परिचालन समिति गठन गरेको छ। मञ्चले आज बसेको बैठकले यस्तो निर्णय गरेको हो । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट खोटाङमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दर्ता गराएका डा. रोका अर्थ तथा राजनीतिक विश्लेषकको रूपमा चर्चित व्यक्तित्व हुन् ।

    उनको उम्मेदवारीलाई समर्थन गर्न खोटाङमा पार्टीका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टंक राईको संयोजकत्वमा १,१२५ सदस्यीय निर्वाचन परिचालन समिति समेत गठन गरिएको छ ।

    काठमाडौंमा गठित यी समितिहरूले खोटाङमा रहेका आफन्त, साथीभाइ तथा मतदातालाई सम्पर्क गरी रोकाको पक्षमा मत माग्ने र उनको निर्वाचन अभियानमा आर्थिक तथा नैतिक सहयोग गर्ने जनाइएको छ । आगामी फागुन २१ गते हुने निर्वाचनमा खोटाङबाट दुई स्वतन्त्रसहित १५ जना उम्मेदवारहरू प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित समाचार