सोमवार, माघ २६ २०८२
नेपाल वाइड
खोटाङ, २६ माघ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाह भोज खाएका बेहुला–बेहुलीसहित सबैजना बिरामी भएपछि कोशी प्रदेशका स्वास्थ्यमन्त्री मानबहादुर लिम्बूसहितको विज्ञ टोली घटनास्थलमा पुगेको छ । माघ २१ गते दिप्लुङमा भएको विवाह भोजमा करिब ३५० जनाभन्दा बढीले खाना खाएका थिए । भोज खाएको १२ घण्टापछि माघ २२ गते बेलुकादेखि सहभागीहरूमा ज्वरो, काम्ने र झाडापखालाजस्ता समस्या देखिएको हो ।
स्वास्थ्यकर्मीहरूले बिरामीहरूलाई ‘फुडपोइजन’ भएको आशंका गरेका छन् । माघ २३ गते दिप्लुङकै निगालावासमा गाँउपालिकाद्धारा स्वास्थ्य शिविर स्थापना गरिएको छ । बिरामीको चाप बढेपछि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा समेत उपचारको व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ले जानकारी दिईन् ।
गाउँपालिका प्रमुख राईका अनुसार विरामीहरुलाई अन्यत्र रिफर गर्नु पर्ने अवस्था नरहेको र हाल शिविरमै राखेर ६० जना बिरामीलाई भर्ना गरेर उपचार भइरहेको छ । विरामीहरुको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको वहाँको भनाई छ । स्वास्थ्य कार्यालय खोटाङका प्रमुख कुलबहादुर पौडेलका अनुसार कोशी प्रदेश सरकारबाट डा. रामहरि रेग्मी र डा. सन्तोष राई नेतृत्वको दुईवटा विज्ञ टोली केही दिन दिप्लुङमै बसेर उपचार गर्ने भएका छन् ।
स्वास्थ्यमन्त्री लिम्बूले शिविरका लागि आवश्यक सबै सुविधा उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उपचार गराएर फर्किएका बिरामीमा पनि पुनः समस्या दोहोरिएको पाइएको छ । प्राथमिक स्वास्थ्य केन्द्रमा हाल छ जना बिरामीलाई शैयामा भर्ना गरेर उपचार भइरहेको गाउँपालिकाका उपप्रमुख खेमबहादुर खड्काले जानकारी दिए । उनीहरूको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको बताइएको छ ।