Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु


    • सोमवार, माघ २६ २०८२

    • नेपाल वाइड


    खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु
    स्क्रिनिङ अभियान कार्यक्रम उद्धघाटनका अबशरमा स्वास्थ्य परिक्षण गराउनुहुदै नगर प्रमुख तिर्थराज भट्टराई ।

    खोटाङ, २६ माघ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वर्षमाथिका नागरिकलाई लक्षित गर्दै नसर्ने रोगको स्क्रिनिङ अभियान सुरु गरेको छ । उच्च रक्तचाप, मुटु तथा रक्तनलीसम्बन्धी रोग, मधुमेह, दम, क्यान्सर र मिर्गौलासम्बन्धी रोग पहिचान गरी निःशुल्क उपचार गर्न नगरपालिकाले अभियान सुरु गरेको हो ।

    आगामी चैत पहिलो हप्तासम्म सञ्चालन हुने अभियानको पहिलो दिन ५८ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । दिक्तेलस्थित नगरपालिकाको सभाहलमा आयोजित अभियान शुभारम्भमा स्वास्थ्य परीक्षण गराउने मध्ये चार जनाको रक्तचाप बढेको र सात जनामा पिसाबसम्बन्धी समस्या देखिएको छ ।

    पिसाबसम्बन्धी समस्या देखिएकाहरूलाई मिर्गौला परीक्षण गराउन जिल्ला अस्पताल दिक्तेल जान सल्लाह दिइएको नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताए । स्क्रिनिङ अभियान सम्पन्न भएपछि आगामी चैत ५ र ६ गते निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने छ । दिक्तेलस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवनमा सञ्चालन हुने शिविरमा विभिन्न रोगका विशेषज्ञ चिकित्सकसहितको टोली सहभागी हुनेछन् ।

    हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. चाबहिल काठमाडौँले प्राविधिक सहयोग गर्ने भएको छ । नगरपालिकाभित्रका सबै वडामा सञ्चालन हुने अभियानमा राजनीतिक दल, नागरिक समाज, विद्यालय परिवार, कर्मचारी तथा ३० वर्षमाथिका नगरवासीलाई अनिवार्य स्वास्थ्य परीक्षण गराउन आग्रह गरिएको नगर प्रमुख तिर्थराज भट्टराईले जानकारी दिए ।

    विश्व स्वास्थ्य सङ्गठनका तथ्याङ्क अनुसार सन् २०१८ मा विश्वभर कुल मृत्युमध्ये ६६ प्रतिशत मृत्यु नसर्ने रोगका कारण भएकोमा हाल यो दर बढेर ७१ प्रतिशत पुगेको छ । नेपालमा पनि यस्ता रोगको प्रकोप तीव्रगतिमा बढिरहेको छ ।

    यसैबीच, माघ २८ देखि फागुन १ गतेसम्म जिल्लाभर पाठेघरको मुखको क्यान्सर नियन्त्रणसम्बन्धी एचपीभी खोप अभियान सञ्चालन गरिने भएको छ । अभियानमा कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिरका दश वर्ष उमेर समूहका किशोरीलाई खोप दिइनेछ । गत वर्षको खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि खोप प्रदान गरिने छ ।

    सम्बन्धित समाचार