Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान अभ्यास कार्यक्रम

    मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान अभ्यास कार्यक्रम


    • शुक्रवार, फाल्गुण १ २०८२

    • नेपाल वाइड


    मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान अभ्यास कार्यक्रम

    खोटाङ, १ फागुन । जिल्ला निर्वाचन कार्यालय खोटाङले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन नमूना मतदान अभ्यास कार्यक्रम सुरु गरेको छ । मतदातालाई मतदान गर्ने सही तरिका तथा मतपत्र बदर हुन नदिने तरिका सिकाउन र मतदान गर्ने समय निर्धारण गर्न निर्वाचन कार्यालयले नमूना मतदान अभ्यास कार्यक्रम सुरु गरेको हो ।

    निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका दशवटै स्थानीय तहमा सञ्चालन गरिने कार्यालय प्रमुख रविन मगरले जानकारी दिए । नमूना मतदान अभ्यास कार्यक्रमले मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुनुका साथै कर्मचारी व्यवस्थापनमा सहजता हुने विश्वास गरिएको छ ।

    कार्यक्रममा निर्वाचन प्रहरीको भूमिकाका विषयमा समेत जानकारी गराइने छ । यसले आगामी निर्वाचन सफल बनाउन ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको नमूना मतदान अभ्यास कार्यक्रममा सहभागीलाई महिला–पुरुष छुट्टाछुट्टै लाइनमा राखेर मतदानको व्यवस्था गरिएको थियो ।

    निर्वाचन कार्यालय खोटाङले आयोजना गरेको कार्यक्रममा ३५ जना महिला र २७ जना पुरुषले सहभागिता जनाएका थिए । प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा आगामी निर्वाचनका लागि १३६ वटा मतदानस्थल निर्धारण गरिएको छ ।

    जिल्लामा निर्धारण गरिएका मतदानस्थलमध्ये २१ वटा अतिसंवेदनशील, ६४ वटा संवेदनशील र ५१ वटालाई सामान्यमा राखेर सुरक्षा व्यवस्था मिलाइएको जिल्ला सुरक्षा समितिले जनाएको छ । मतदातालाई सुरक्षित र भयरहित वातावरणमा मतदान गर्ने वातावरण मिलाउन मतदानस्थलहरूलाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा व्यवस्था मिलाइएको सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईले जानकारी दिए ।

    आगामी निर्वाचनका लागि निर्धारण गरिएका १३६ मतदानस्थलमा १९५ वटा मतदान केन्द्र रहने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आगामी निर्वाचनमा एक लाख ४७ हजार १२० जना मतदाता मतदानका लागि योग्य रहेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि दुई स्वतन्त्रसहित १५ जना नेताले उम्मेदवारी दर्ता गराएका छन् ।

    आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घन भए–नभएको अनुगमन तथा कारबाही गर्नका लागि दुई जना अनुगमन अधिकृतसमेत तोकिएको छ । उम्मेदवार तथा राजनीतिक दलले निर्वाचन आचारसंहिता पालना गरे–नगरेको अनुगमन तथा कारबाही गर्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी राई र कोष नियन्त्रक रोमा पाण्डेलाई अनुगमन अधिकृत तोकिएको हो ।

    अनुगमन अधिकृतले जुलुस, आमसभा, पोस्टर, भित्तेलेखन, सवारी साधनको प्रयोग, घोषणापत्र सार्वजनिक गरे–नगरेको, निर्वाचन प्रचार प्रसारका लागि आर्थिक सहयोग लिए–नलिएको, निर्वाचन खर्चका लागि बैंक खाता खोल्ने व्यवस्था गरे–नगरेको लगायतका विषयमा अनुगमन गर्ने जनाइएको छ ।

    आगामी निर्वाचनका लागि नेपाली काँग्रेसबाट वीरकाजी राई, एमालेबाट देवबिक्रम राई, नेकपाबाट डा. हरि रोका, रास्वपाबाट रुद्र गिरी, जसपाबाट राकेश राई, राप्रपाबाट दीपक तामाङ, जनता समाजवादी पार्टी नेपालबाट सुनिल चाम्लिङ, श्रम संस्कृति पार्टीबाट आरेन राई, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट चन्द्र बुढाथोकी ’शैलेस’, नेपाल मजदुर किसान पार्टीबाट ध्यानप्रसाद ढकाल, राष्ट्रिय परिवर्तन पार्टीबाट मिरेश राई, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीबाट प्रयाग राई र मितेरी पार्टी नेपालबाट केशरमान चाम्लिङले उम्मेदवारी दर्ता गराएका छन्। डा. राजकुमार राई र तीलकचन्द्र राईले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित समाचार