बुधवार, फाल्गुण ६ २०८२
नेपाल वाइड
खोटाङ, ६ फागुन । खोटाङको साकेला गाउँपालिकाको सामुदायिक भवनमा भएको आगलागीमा तीन करोड १६ लाख ३६ हजार बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । गाउँपालिकाको केन्द्र मात्तिमस्थित मानेभञ्ज्याङमा रहेको सामुदायिक भवनमा बुधबार बिहान करिब साढे छ बजेतिर आगलागी सुरु भएको थियो ।
इलाका प्रहरी कार्यालय मात्तिम र स्थानीयवासीले करिब डेढ घण्टा लगाएर आगो नियन्त्रणमा लिएको पालिकाका सूचना अधिकारी डिएम चाम्लिङले जानकारी दिए । साढे दुईतले पक्की भवनको पहिलो तलामा गाउँपालिकाको स्टोर र माथिल्लो तलामा उपप्रमुख बिर्सिका राई र कर्मचारीको आवास रहेको थियो ।
आगोको रूप ठूलो भएपछि भण्डारण गरिएका सामग्री निकाल्न नसकिएको सूचना अधिकारी चाम्लिङले जानकारी दिए । धनमाल जलेर ठूलो क्षति भए पनि मानवीय क्षति नभएको जनाईएको छ । भवनमा जडान गरिएको विद्युत फल्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । गएराति आवासमा कोही पनि नबसेको भएकाले घटनालाई शङ्कास्पद मानिएको उपप्रमुख राईले बताइन् । प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।